बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु

थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का गरिएको छ ।
आगलागी बैङ्ककको उत्तरी क्षेत्रमा रहेको ना लाडपराव पबमा भएको हो । प्रारम्भिक जानकारीअनुसार स्टेज नजिकै रहेको सर्किट ब्रेकरबाट धुवाँ निस्किएपछि विस्फोट भएको र केही क्षणमै बाक्लो धुवाँ तथा आगो पबभर फैलिएको थियो । त्यसपछि मानिसहरू बाहिर निस्कन खोज्दा भागदौड मच्चिएको थियो ।
थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले घटनास्थलमै पुगेर २७ जनाको मृत्यु भएको पुष्टि गर्दै आगलागीको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार धेरै शव पबको पछाडितर्फ रहेको शौचालय क्षेत्रमा फेला परेका छन् । त्यहाँ मानिसहरू ज्यान जोगाउन आश्रय लिन पुगेका थिए ।
प्रारम्भिक उद्धार टोलीले सार्वजनिक गरेको दृश्यमा पबको मुख्य प्रवेशद्वारबाट ठूलो आगो र बाक्लो कालो धुवाँ निस्किरहेको तथा मानिसहरू ज्यान जोगाउन भागिरहेको देखिएको थियो । आगलागी नियन्त्रणमा लिन दमकलकर्मीलाई करिब आधा घण्टा लागेको थियो ।
बैङ्ककका गभर्नर चाडचार्ट सिटिपुन्टका अनुसार घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ । धेरै पीडितसँग परिचय खुल्ने कागजात नभएको वा उनीहरू बेहोस रहेकाले पहिचान गर्ने काम जारी छ ।
घटनापछि आफ्ना आफन्तको खोजीमा पुगेका परिवारजनका लागि घटनास्थल नजिकै दर्ता तथा सूचना केन्द्र स्थापना गरिएको छ ।
नजिकै अर्को कार्यक्रममा प्रस्तुति दिइरहेकी गायिका सुकन्या वोङवोङवाईले आगलागीको खबर पाएपछि घटनास्थल पुगेको बताउँदै आफ्ना ब्यान्डका एक सदस्यको मृत्यु भएको, तीन जना अस्पतालमा उपचाररत रहेको र एक जना अझै सम्पर्कविहीन रहेको जानकारी दिनुभयो । उहाँका अनुसार आगलागी भएपछि तत्काल विद्युत् आपूर्ति बन्द हुँदा पब अन्धकारमय बनेको र बाक्लो धुवाँका कारण मानिसहरूले एकअर्कालाई देख्न नसकेकाले बाहिर निस्कन कठिन भएको थियो ।
थाइल्यान्डमा यसअघि पनि यस्ता दुःखद् आगलागी भएका छन् । सन् २०२२ मा देशको पूर्वी क्षेत्रमा रहेको एक म्युजिक पबमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको थियो । त्यसअघि सन् २००९ को नयाँ वर्षको पूर्वसन्ध्यामा बैङ्ककको सान्टिका नाइटक्लबमा भएको आगलागीमा ६६ जनाले ज्यान गुमाएका थिए भने २०० भन्दा बढी घाइते भएका थिए । उक्त आगलागी भित्री आतशबाजी प्रदर्शनका कारण भएको निष्कर्ष निकालिएको थियो ।।





प्रतिक्रिया राख्नुहोस्