अमेरिकी प्रतिनिधि र रुसी राष्ट्रपतिबीच वार्ता: जानकारीको प्रतीक्षामा ईयू

एजेन्सी- युरोपेली युनियन (ईयू) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार भएको भेटवार्ताबारे वासिङ्टनबाट विस्तृत जानकारी पाउने अपेक्षा गरेको जनाएको छ ।

विटकफले रुसको सेन्ट पिटर्सबर्गमा पुटिनसँग भएको भेटमा युक्रेन युद्ध अन्त्य गर्न सम्भावित शान्ति सम्झौताका लागि केही ‘विचार’ प्रस्तुत गरेको बताउनुभएको छ ।

यो भेटवार्ता युक्रेनमा शान्ति स्थापनाका लागि कूटनीतिक पहल भइरहेका बेला भएको हो । यसअघि मङ्गलबार नर्वेको ओस्लोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र विटकफबीच भएको बैठकमा युरोपेली युनियनका एक उच्च अधिकारी पनि सहभागी थिए ।

ईयूकी प्रवक्ता पाउला पिन्होका अनुसार, छलफलको मुख्य उद्देश्य युक्रेन र रुसलाई एउटै वार्ताको टेबलमा ल्याउन सकिने सम्भावनाबारे खोजी गर्नु थियो । त्यसका लागि त्रिपक्षीय वा बहुपक्षीय वार्ताको आधार तयार गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

पिन्होले मङ्गलबारको बैठकमा मुख्यतः भूभागसम्बन्धी विवाद, सुरक्षा व्यवस्था र युद्धपछि युक्रेनको समृद्धिका विषयमा छलफल भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार, रुसी राष्ट्रपति पुटिनसँगको भेटवार्तापछि अमेरिकी प्रतिनिधिमण्डल फर्किएलगत्तै त्यसका प्रमुख निष्कर्ष र छलफलका विषयबारे विस्तृत जानकारी उपलब्ध हुने ईयूले अपेक्षा गरेको छ ।

युक्रेन युद्ध अन्त्य गर्न भइरहेका कूटनीतिक प्रयासमा अमेरिका र युरोपेली राष्ट्रहरूबीच समन्वय महत्वपूर्ण मानिएको छ । सम्भावित शान्ति सम्झौतामा भू–भाग, सुरक्षा प्रत्याभूति र युद्धपछिको पुनर्निर्माणजस्ता विषय प्रमुख चुनौतीका रूपमा रहेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.