लगातारको वर्षाले पृथ्वी राजमार्गको यात्रा जोखिमपूर्ण र कष्टकर

धादिङ- लगातारको वर्षापछि पृथ्वी राजमार्ग अन्तर्गत निर्माणाधीन नागढुंगा–मुग्लिन तथा मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरो र ढुंगा खस्ने घटना बढ्दै जाँदा यात्रा थप कष्टकर र जोखिमपूर्ण बनेको छ।
वर्षासँगै सडकमा पटक–पटक पहिरो खस्दा र ढुंगा झर्दा स्थानीय प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै भारी वर्षाका बेला केही समयका लागि सवारी आवागमनसमेत रोक्ने गरेको छ। यसका कारण सयौं सवारीसाधन लामो जाममा पर्ने गरेका छन् भने हजारौं यात्रु घण्टौंसम्म राजमार्गमै अलपत्र पर्ने अवस्था सिर्जना भएको छ।
लामो जामका कारण यात्रुले खानेपानी, शौचालय तथा विश्रामस्थलको अभाव झेल्नुपरेको गुनासो गरेका छन्। समयमै गन्तव्यमा पुग्न नसक्दा बिरामी, बालबालिका, ज्येष्ठ नागरिक तथा अत्यावश्यक काममा हिँडेका यात्रु सबैभन्दा बढी प्रभावित भएका छन्।
सवारी चालकहरूका अनुसार वर्षायाममा, विशेषगरी रातिको समयमा यात्रा गर्नु अत्यन्त जोखिमपूर्ण बनेको छ। कहिले र कहाँबाट पहिरो वा ढुंगा खस्ने हो भन्ने अनुमान गर्न कठिन भएकाले अत्यधिक सतर्कता अपनाएर मात्र सवारी सञ्चालन गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ।
राजमार्गका धेरै स्थानमा मोबाइल नेटवर्क र इन्टरनेट सेवा कमजोर हुँदा सडकको अवस्थासम्बन्धी सूचना आदान–प्रदानमा समेत समस्या हुने गरेको चालकहरूले बताएका छन्।
सामान्य अवस्थामा नारायणघाटदेखि काठमाडौं पुग्न चारदेखि पाँच घण्टा लाग्ने यात्रा वर्षायाममा आठदेखि दश घण्टासम्म लम्बिने गरेको छ।
प्रशासनले मौसमको पूर्वानुमान तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै मुग्लिन–नारायणघाट सडकखण्डका तुइनखोला, सेतीदोभान र जलविरे तथा मलेखु–मुग्लिन सडकखण्डका चुमखोला, फिस्लिङ र कृष्णभीरलगायत उच्च जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
राजमार्गका संवेदनशील स्थानमा सुरक्षा निकाय तथा विपद् उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ।।






प्रतिक्रिया राख्नुहोस्