सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यु, महेन्द्र राजमार्ग र इनरुवा बजारमा आवतजावत निषेध

सुनसरी- सुनसरीमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले फेरि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि सुरु भएको तनाव मंगलबार महेन्द्र राजमार्गको विभिन्न क्षेत्रमा फैलिन थालेपछि प्रशासनले कडा सुरक्षा व्यवस्था अपनाएको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मंगलबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरिएको जानकारी दिनुभएको छ।
प्रशासनका अनुसार पछिल्ला घटनाक्रमले सार्वजनिक शान्ति, सुरक्षा र जनजीवनमा प्रत्यक्ष असर पर्ने अवस्था देखिएकाले कर्फ्यु जारी गर्नुपरेको हो।
आदेशअनुसार पूर्वमा इटहरीको पकली चोकदेखि पश्चिममा कोशी ब्यारेजको पुलसम्मको महेन्द्र राजमार्ग तथा राजमार्गको उत्तर र दक्षिणतर्फ दुई–दुई सय मिटर क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैन। यससँगै इनरुवा बजार क्षेत्रभित्र पनि सबै प्रकारका सार्वजनिक गतिविधिमा पूर्ण रोक लगाइएको छ।
मंगलबार घण्टावाडीदेखि झुम्कासम्म महेन्द्र राजमार्ग क्षेत्रमा प्रदर्शन, तोडफोड र तनावपूर्ण गतिविधि बढ्न थालेपछि प्रशासनले तत्काल सुरक्षा रणनीति परिवर्तन गर्दै कर्फ्युको दायरा विस्तार गरेको हो।
विभिन्न स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको परिचालनलाई समेत थप सुदृढ बनाइएको छ।
प्रमुख जिल्ला अधिकारी अर्यालले पछिल्लो तनावबाट कुनै पनि समुदाय वा पक्षलाई लाभ नहुने उल्लेख गर्दै सबैलाई संयम अपनाउन, अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। प्रशासनले कर्फ्यु आदेशको पूर्ण पालना गर्न सर्वसाधारणसँग अनुरोध गर्दै शान्ति–सुरक्षा कायम गर्न आवश्यक सबै सुरक्षा संयन्त्र परिचालन गरिएको जनाएको छ।
सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि जिल्लाका विभिन्न स्थानमा विरोध प्रदर्शन, आगजनी, तोडफोड तथा तनावका घटना दोहोरिन थालेका छन्।
यही अवस्थालाई नियन्त्रणमा लिन प्रशासनले चरणबद्ध रूपमा सुरक्षा व्यवस्था कडा बनाउँदै आएको छ। पछिल्लो कर्फ्यु आदेशसँगै सुनसरीका प्रमुख व्यापारिक तथा यातायात मार्गहरू प्रभावित भएका छन् भने जनजीवन पनि उल्लेख्य रूपमा प्रभावित बनेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.