तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दस वर्षमा बनेन

महेन्द्रनगर–  चट्टानी पहाड, भौगोलिक विकटता तथा अवरोध नहुँदा पनि कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक साढे नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेन ।
पटक÷पटक ठेक्काको म्याद थपेर निर्माण व्यवसायीलाई काम गर्ने मौका पनि दिइयो । स्थानीयवासीदेखि सांसद, मन्त्रीदेखि राजनीतिज्ञहरूले समेत काम समयमा सम्पन्न गराउन आग्रह गरे तर अझै हुलाकी सडक नयाँ ठेक्का प्रक्रियामा रुमलिएको छ ।
तीस महिना भित्र निर्माण सक्ने गरी २०७३ फागुनको तीन चरणमा ठेक्का सम्झौता भई निर्माण सुरु भएको जिल्लाको दक्षिण क्षेत्रको हुलाकी सडक अझै पूरा हुन सकेको छैन ।
“पटक÷पटक सम्झौता गरेर सडकको पहिलो र अन्तिम प्याकेज (डोकेबजार–बेलौरी र बेल्डाडी–दैजी खण्ड) सकिए पनि बीचको प्याकेज पुनः नयाँ ठेक्का दिने प्रक्रियामा छौँ,” हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले भन्नुभयो, “यो योजना समयमा सम्पन्न नहुनुमा ठेकेदारको प्राथमिकतामा परेन, हामीले काम गर्ने सबै खाले वातावरण तयार गरेर दिँदा पनि उनीहरू कामप्रति गम्भीर भएनन् ।”
डोकेबजारदेखि बेलौरीसम्मको पहिलो प्याकेज (२० किमी) सडक, सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई हस्तान्तरणको प्रक्रियामा रहेको उहाँको भनाइ छ ।
“अन्तिम २४ किलोमिटर बेल्डाडी–दैजी खण्डको काम पनि सकिएर डिएलपी (त्रुटि दायित्व अवधि)मा छ ।” प्रमुख लामिछानेले भन्नुभयो, “म्याद थप, भुक्तानीलगायतका काममा कार्यालयबाट पूर्ण सहयोग रहँदा पनि ठेकेदारले पेटी ठेकेदार राख्ने । कामको भुक्तानी नदिनेलगायतका बदमासीले वर्षौंसम्म योजना सकिएन ।”
उहाँले योजनाअन्तर्गत बेलौरीदेखि बेल्डाडीसम्मको बीचको प्याकेजअन्तर्गत निर्माण कम्पनी बाबा हंस सिद्धिसाई जेभीले ११ किलोमिटर सडक कालोपत्रे बनाए पनि धेरै ठाउँमा भत्किसकेको बताउनुभयो । “सो प्याकेजमा ठेकेदारले लापरबाही गरेपनि ठेक्का तोडेर अहिले नयाँ ठेक्काका लागि स्टिमेट तयार गरिरहेका छौँ । डेढ महिनाभित्र नयाँ ठेक्का खुल्छ,” उहाँले भन्नुभयो, “सोही खण्डमा भारतले दशगजालगायत सीमा विवाद गर्दा एक पचुई क्षेत्रमा एक हजार ४०० मिटर खण्ड कालोपत्रे गर्न नसकिने भयो । त्यो भाग छोडेर काम अघि बढाइनेछ ।”
नयाँ ठेक्का आह्वान गर्नुपर्ने बीचको प्याकेज यसअघि रु ४१ करोडमा ठेक्का सम्झौता भएको थियो । भने हुलाकी सडक कार्यालयबाट निर्माण व्यवसायीले रु २८ करोड भुक्तानीसमेत लिइसकेको थियो ।
यहाँको बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बेलौरी–बेल्डाडी खण्डको निर्माण पूरा गर्न धेरै पटक पहल भएपनि सडक नबनेको दुःखेसो पोख्नुभयो । “हामीले यो बीचको अवधिमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई सडक निर्माणका विषयमा ज्ञापन बुझायौँ,” उहाँले भन्नुभयो, “भारतीय पक्षबाट अवरोध भएको भागमा कालोपत्रे गर्न भारतीय एसएसबीसँग पनि पहल गर्यौँ तर उपलब्धि भएन ।”
उहाँले उक्त सडकखण्ड अहिले हिलाम्मे हँुदा स्थानीयवासीलाई हिँड्डुलमा समेत समस्या रहेको बताउनुभयो । “हुलाकी सडक योजना कार्यालयबाट नयाँ ठेक्का हुँदैछ भन्ने सुनिएको छ,” उहाँले भन्नुभयो, “नयाँ ठेक्का खुलेपछि व्यवस्थित गर्दै समयमा निर्माण सक्नेगरी लाग्नुपर्छ । यो सडक नबन्दा जनप्रतिनिधिको पनि बेइज्जतको स्थिति भइसक्यो । सडक सम्पन्न नहुँदा दुःखी छौँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.