पहिरो र खहरे खोलाका कारण विपी राजमार्गमा यात्रा कष्टकर

काभ्रे- देबराज केसी काभ्रे, साउन १८ —२०८१ असोज १०–१२ वर्षको बाढीले क्षतिग्रस्त बनाएको विपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पुरानै ट्रयाकबाट सवारी सञ्चालन ल्याए पनि चौकीडाँडा देखि नेपालथोकसम्मको सडक खण्ड वर्षापछि आएको पहिरो र खहरे खोलाका कारण यात्रा कष्टकर बनेको छ ।

पहिलेको तुलनामा सडक अवस्था केही सहज भए पनि वर्षा हुँदा खहरे खोला र पहिरोका कारण सवारी आवागमन प्रभावित हुने गरेको छ ।

राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकले खहरे खोला, ढुंगा खस्ने र पहिरोका कारण पटक–पटक घण्टौंसम्म जाममा बस्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन् ।

वर्षायामका कारण राजमार्गका विभिन्न स्थानमा ढुंगा खस्ने तथा पहिरो जाने जोखिम उच्च रहेकाले अत्यन्त सावधानीपूर्वक यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले सबै सवारी चालक तथा यात्रुलाई अनुरोध गर्नुभएको छ ।

उहाँले मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न, सवारी साधन सुरक्षित गतिमा सञ्चालन गर्न, जोखिमयुक्त स्थानमा अनावश्यक रोकिएर नबस्न तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्नसमेत आग्रह गर्नुभएको छ ।

सडक डिभिजनका अनुसार चौकीडाँडा, चारसयबेसी, घुमाउनेवेशी, बोक्सीकुना, चिउरीबास, कालढुंगा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई उच्च जोखिमयुक्त स्थान रहेको छ ।

राजमार्ग पुनर्निर्माणको काम चार खण्डमा विभाजन गरिएको छ ।

तीमध्ये तीन खण्डमा निर्माण कार्य सुरु भइसकेको छ भने चौथो खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत पुनर्निर्माण हुने छ ।

हाल पिप्लेदेखि डालाबेशीसम्म २.३ किलोमिटर, डालाबेशीदेखि चारसयबेसीसम्म ८.५ किलोमिटर तथा चारसयबेसीदेखि भकुण्डेबेशी-चौकीडाँडासम्म ११ किलोमिटर सडक पुनर्निर्माण भइरहेको छ ।

ती खण्डमध्ये पहिलोमा २० प्रतिशत, दोस्रोमा २६ प्रतिशत र तेस्रोमा २५ प्रतिशत निर्माण सम्पन्न भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.