सुनकोशीमा खसेको कार र तीन जना अझै बेपत्ता, ड्रोनसहित उच्च प्रविधिबाट खोजी जारी

सिन्धुली– सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा बसको ठक्करपछि सुनकोशी नदीमा खसेको कार र त्यसमा सवार तीन जना अझै बेपत्ता रहेका छन्। नेपाल प्रहरीले ड्रोन, गोताखोर र अन्य उच्च प्रविधिको प्रयोग गरी खोजी कार्यलाई निरन्तरता दिएको जनाएको छ । सोमबार भएको दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको गोताखोर टोली, नेपाली सेना र स्थानीयवासीको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रबिन्द्रबहादुर सिंहका अनुसार सुनकोशी नदीको तीव्र बहाव, धमिलो पानी र बाढीका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ।दुर्घटनामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ का ३९ वर्षीय दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का गणेश थापा र तीनपाटन गाउँपालिका–९ का १७ वर्षीय सुजन बलमपाकी मगर बेपत्ता छन् । यसैबीच, बेपत्ता व्यक्तिका परिवार र स्थानीयवासीले उचित क्षतिपूर्ति, घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन्। प्रहरीका अनुसार खुर्कोट र नवलपुरमा अवरुद्ध गरिएको सडकमध्ये खुर्कोट खण्ड सञ्चालनमा आएको छ भने नवलपुर क्षेत्रमा अवस्था सामान्य बनाउन प्रयास जारी छ।
प्रहरीका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको यात्रुबाहक बसले सडक छेउमा रोकिएको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि कार सुनकोशी नदीमा खसेको थियो। दुर्घटनापछि बस चालक हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।






प्रतिक्रिया राख्नुहोस्