सालझण्डी–ढोरपाटन सडकको कालोपत्रे कार्य यसै बर्ष अघि बढ्छ: मन्त्री लम्साल

अर्घाखाँची- अर्घाखाँचीलाई तराईसँग जोड्दै बागलुङको ढोरपाटनसम्म पुग्ने महत्वपूर्ण सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको बाँकी काम अघि बढ्ने भएको छ। सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले कालोपत्रे गर्न बाँकी रहेको करिब १ सय ४० किलोमिटर सडकखण्डको ठेक्का प्रक्रिया यसै वर्ष अघि बढाइने बताउनुभएको छ।

कुल १९७ किलोमिटर लम्बाइ रहेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा हालसम्म करिब ३६ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। यो सडकको करिब ७० किलोमिटर खण्ड अर्घाखाँची जिल्लामा पर्छ। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क हुँदै जिल्लाका विभिन्न ग्रामीण क्षेत्रलाई तराईसँग जोड्ने भएकाले यो सडक जिल्लाको विकास र समृद्धिसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण आयोजना मानिन्छ।

सडकको बाँकी खण्ड कालोपत्रे भएपछि अर्घाखाँचीका ग्रामीण बस्ती, कृषि क्षेत्र तथा पर्यटकीय स्थलमा आवागमन सहज हुने अपेक्षा गरिएको छ। सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उत्पादनलाई रुपन्देहीसहित तराईका बजारसम्म पुर्‍याउन सहज हुने स्थानीयको विश्वास छ।

त्यस्तै, अर्घाखाँचीबाट ढोरपाटन क्षेत्रसम्मको आवागमन सहज भएपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। सडकले अर्घाखाँचीसँगै रुपन्देही, गुल्मी र बागलुङका विभिन्न क्षेत्रलाई समेत जोड्ने भएकाले यसलाई क्षेत्रीय महत्वको सडकका रूपमा हेरिएको छ।
लामो समयदेखि निर्माणाधीन रहेको सडकमा विभिन्न स्थानमा स्तरोन्नति तथा निर्माणका काम भइरहे पनि कालोपत्रेको काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। वर्षायाममा सडकको अवस्था कमजोर हुँदा यातायात सञ्चालनमा समेत समस्या हुने गरेको स्थानीयको गुनासो छ।

मन्त्री लम्सालले बाँकी करिब १४० किलोमिटर सडकखण्डको कालोपत्रेका लागि यसै वर्ष ठेक्का प्रक्रिया अघि बढाउने बताएपछि अर्घाखाँचीवासीमा सडक आयोजना पूरा हुने आशा बढेको छ।

स्थानीयवासीले भने ठेक्का प्रक्रिया अघि बढाउनुका साथै निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गराउने, गुणस्तर कायम गर्ने र नियमित अनुगमन गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। वर्षौंदेखि चर्चामा रहेको आयोजना समयमै सम्पन्न भए अर्घाखाँचीको कृषि, पर्यटन, व्यापार तथा यातायात क्षेत्रमा उल्लेख्य सुधार आउने उनीहरूको अपेक्षा छ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अर्घाखाँचीका लागि केवल यातायातको माध्यम मात्र नभई जिल्लाको आर्थिक विकास र अवसर विस्तारसँग जोडिएको महत्वपूर्ण पूर्वाधार भएकाले बाँकी कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने जिल्लावासीको माग छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.