सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ : पूर्वप्रधानमन्त्री देउवा

काठमाडौँ- नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताका दैनिकी समस्या समाधान गरी जनतामा आशा जगाउनुपर्ने बताउनुभएको छ ।

कांग्रेसको संस्थापन पक्षइतरको आजदेखि यहाँ सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले जनतामा देखिएका निराशाा आशामा बदल्न कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री देउवाले मुलुकको अवस्था अहिले संवेदशील देखिएको बताउँदै सबै सजग भएर राष्ट्रिय एकता कायम गर्न भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । मुलुकको इतिहास सबै लोकतान्त्रिक आन्दोलन कांग्रेसको नेतृत्वमा नै सफल भएको र त्यसमा पुर्खा र अग्रजहरूले भोगेको कठिनाइ र सङ्घर्षलाई कसैले पनि बिर्सन नहुने उहाँले उल्लेख गर्नुभयो ।

तिनै परिवर्तनले नै जनताका मौलिक हक प्राप्त भएका र यसमा कांग्रेसीजनहरूले गर्व गर्नुपर्ने उहाँको भनाइ थियो । पूर्वप्रधानमन्त्री देउवाले मुलुकका हरेक परिवर्तनमा प्रायः सबै दलबीच एकता हुने गरेको र त्यो नेपालको मौलिकपन भएको बताउनुभयो ।

उहाँले लामो गौरवमय इतिहास भएको कांग्रेसमा विशेष महाविधेशनले हाल कमजोर बनाउने काम भएको उल्लेख गर्दै सर्वाेच्च अदालतबाट न्याय हुने अपेक्षा गर्नुभयो । चार पुस्ता भएको कांग्रेसमा असहमतिलाई कम गर्न सबैलाई न्याय हुनेगरी अघि बढ्न सबै लाग्नुपर्नेमा उहाँको जोड थियो ।

पूर्वप्रधानमन्त्री देउवाले संविधानप्रदत्त अधिकारको संरक्षण, राष्ट्रिय सहमति र जनताका हितका लागि काम गर्न आफू सदैव तयार रहेको बताउनुभयो । राष्ट्रियता, समाजवाद र लोकतन्त्र आफ्नो जीवनको मूल आदर्श भएको बताउँदै उहाँले यसमा आफूले कहिल्यै पनि सम्झौता नगरेको बताउनुभयो । साथै उहाँले गणतन्त्र संस्थागत गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफू पाँच महिनापछि स्वास्थ्योपचार गरेर हिजोमात्र फर्केको र स्वागतका लागि विमानस्थलमा ठूलो सङ्ख्यामा आएका नेता, कार्यकर्ताप्रति आभार व्यक्त गर्नुभयो ।

समारोहमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशन रोकेर पार्टीमा एकता कायम गर्नका लागि आफूले गरेको प्रयासबारेमा जानकारी गराउनुभयो । उहाँले त्यसका लागि आफूले महिना दिनसम्म केन्द्रीय समितिको बैठक लम्ब्याउने अवस्था बनेको स्मरण गर्दै त्यसका लागि आफूले अपजस खेप्नुपरेको समेत बताउनुभयो । उहाँले विशेष महाधिवेशनले पार्टीमा फुट आउँछ भनेर तत्कालीन सभापति शेरबहादुर देउवाले भनेको कुरा सम्झेर आफूले काम गरेको जानकारी दिनुभयो ।

पार्टी एकताका लागि गाउँ गाउँ पुगेर नेताकर्तामा उत्साह थप्न सबैसँग आग्रह गर्दै नेता खड्काले भेलाले वर्तमान कार्यसमितिका पदाधिकारीलाई सच्याउन र एकतामा फर्कनका लागि दबाब दिने उल्लेख गर्नुभयो ।

वरिष्ठ नेता डा शेखर कोइरालाले कांग्रेसले मुलुकमा हाल देखिएको समस्या समाधानमा अन्य दलसँग मिलेर काम गर्नुपर्ने र राष्ट्रियता बलियो बनाउन लाग्नुपर्नेमा जोड दिनभयो । उहाँले मुलुकका संवैधानिक निकायसँगै न्यायापालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताउँदै कांग्रेसका बारेमा यसअघि न्यायालयले दिएको निर्णय पनि सहजै स्वीकार गरेको जानकारी गराउनुभयो । नेता डा कोइरालाले राष्ट्रिय भेलापछि मुलुकभर कांग्रेसमा एकताको सन्देश जाने बताउँदै यसमा सबै लाग्न आग्रह गर्नुभयो ।

पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक प्रक्रियाबाट नै काम गर्नुपर्ने अग्रजहरूले सिकाएको बाटो कसैले पनि बिराउन नहुने बताउनुभयो । गत पुस अन्तिम साता भएको पार्टीको विशेष महाधिवेशन विधानसम्मत नभएको दाबी गर्दै उहाँले सत्य कुरा सबैले सुन्नुपर्ने र आत्मसात् गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले सामाजिक सञ्जालमा पुराना दलले काम गर्न सकेनन् भनेर भ्रम सृजना गरिएको र त्यो भ्रम विस्तारै आफँै हट्दै जान थालेको बताउनुभयो ।

पूर्वउपप्रधानमन्त्री एवं पार्टीका नेता विमलेन्द्र निधिले विशेष महाविधेशन कब्जा गरेर गरिएको आरोप लगाउँदै यस कार्यसमितिका पदाधिकारीलाई १५औँ महाधिवेशन लड्ने अधिकार नहुने दाबी गर्नुभयो । साथै उहाँले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले १५औँ महाधिवेशनको तयारी थाल्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वउपप्रधानमन्त्री एवं पार्टीका नेता विजयकुमार गच्छदारले निवर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस पार्टीमात्र होइन सम्पूर्ण लोकतान्त्रिक शक्ति एक हुनुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । उहाँले यो राष्ट्रिय भेला पार्टी एकताको प्रतीक बनेको उल्लेख गर्नुभयो ।

पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले यसअघि कांग्रेसको विशेष महाधिवेशनका सन्दर्भमा निर्वाचन आयोगले गरेको निर्णयप्रति असहमति जनाउँदै त्यसबेला विस्तृत रूपमा अध्ययनसमेत नभएको भनी निर्वाचन आयुक्तहरूसँग प्रश्न गर्नुभयो । उहाँले सर्वाेच्च अदालतले कांग्रेसको आधिकारिकता सम्बन्धमा पुनरावलोकनका लागि निस्सा दिएपछि आशा पलाएको बताउनुभयो । कांग्रेसको संस्थापन इतरपक्षको तीनदिने राष्ट्रिय भेला आजदेखि सुरु भएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.