बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड रुपैयाँ खर्च

मुस्ताङ- चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तीय खर्च भएको छ । कालिगण्डकी करिडोर कोरला सडक योजनाले सुरुआती आव २०७३/०७४ देखि आव २०८२/०८३ सम्मको अवधिमा उक्त बजेट खर्च भएको जनाएको छ ।

कोरला सडकका योजना प्रमुख तेजस्वी शर्माका अनुसार गतवर्षसम्म कोरला सडक योजनाको साविक लागत अनुमान दश अर्ब ५६ करोड रहेकोमा आठ अर्ब ९६ करोड बजेट खर्च भएको उल्लेख गरेको छ । योजनाको पछिल्लो संशोधित लागत अनुमान १५ अर्ब पु¥याइएको । उहाँले पछिल्लो संशोधित लागत अनुमानअनुसार (बेनी–जोमसोम–कोरला) सडक योजनाको समग्र भौतिक प्रगती ६५ प्रतिशत र वित्तिय प्रगति ६० प्रतिशत पुगेको छ ।

उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको निर्माणधीन कोरला सडक योजनाको पछिल्लो संशोधित सम्पन्न अवधी आव २०८८/०८९ सम्म कायम गरिएको छ । सुरुआती बेनी÷जोमसोम ७४ किमी चारखण्ड अस्फाल्ड कालोपत्र र जोमसोम–कोरला ११९ किमी सातखण्ड ग्राभेल सडकबाट सुरुआत गरिएकोमा हालसम्म सडक तथा पुल पुलेसा गरी दर्जनौँ योजना थपिएका छन् ।

पर्वतको मालढुङ्गादेखि नेपाल–चीन उत्तरी कोरलानाकासम्मको २०२ किमी सडक कालोपत्र तथा स्तरोन्नति गनुपर्ने दायित्व योजनाको रहेको छ । योजना प्रमुख शर्माका अनुसार मालढुङ्गादेखि कोरलासम्म २०२ किमी सडक कालोपत्र गर्नुपर्ने लक्ष्य रहेकोमा गतवर्षको असार महिनासम्म ९० किमी दूरीमा कालोपत्र सम्पन्न भइसकेको छ । कालिगण्डकी करिडोर अन्तर्गत मुस्ताङको छुसाङ्देखि घमीसम्मको ५० किमी सडकको थप स्तरोन्नति गरी सडक कालोपत्र गर्न दुई अर्ब बढीको ठेक्का आह्वान भइसकेको प्रमुख शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आवमा बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको सिरुबारी सडकखण्डको पहिरोग्रष्त क्षेत्रमा ५०० मिटर कालोपत्रको ठेक्का खुलाइनेछ । म्याग्दीको राहुघाट हाइड्रो पावर भएको स्थानको सडकमा ३०० मिटर दुरीमा जलविद्युत कम्पनीले नै कालोपत्र गर्ने पूर्वसहमति भइसकेको छ ।

म्याग्दी र मुस्ताङको सीमाक्षेत्र थासाङ–४ घाँसा तलको खहरे खोला सडकमा करिव ५०० मिटर दुरीको सडकमा कालिगण्डकी गर्ज हाइड्रो पावर कम्पनीलेनै कालोपत्र गर्नेछ । योसँगै म्याग्दीको महभीर र भीरकाँटे सडक बाहेक

पर्वतको मालढुङ्गादेखि बेनी सडकमा करिव ७०० मिटर दूरीमा सडक कालोपत्र गर्न बाँकी रहेको योजना प्रमुख शर्माको भनाइ छ । म्याग्दीको महभीर र भीरकाँटेमा चट्टान फोरेर सडक चौडा गरी फराकिलो बनाउनेकार्य भएकोमा हाललाई उक्तकार्य स्थगित गरिएको छ । त्यहाँ कालिगण्डकी नदीबाट ग्याविक प्रोटेक्सन गरी सडक चौडा गराउन सुरु गरिएको प्रमुख शर्माले जानकारी दिनुभयो ।

यसैगरी कोरला सडक योजना अन्तर्गत पर्वतको मालढुङ्गादेखि कोरलानाकासम्म २६ पक्की मोटरेबल पुल निर्माण गर्ने लक्ष्य राखिएकामा आव २०८२÷०८३ सम्म १८ पक्की पुल निर्माणको काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार कोरला सडकमा चार पक्की पुल निर्माणधीन अवस्थामा रहेको र बाँकी आवश्यक चार पुल निर्माणको लागि बजेट विनियोजन हुन बाँकी रहेको छ ।

कोरला सडक योजनाका अनुसार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ स्थित ताङ्वे खोला र वारागुङ मुक्तिक्षेत्र–४ स्थित कागबेनी खोलामा पुल निर्माण गर्नुपर्नेछ । यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोला र म्याग्दीको तातोपानीस्थित भुरुङ खोलामा पुल निर्माण गर्नुपर्नेछ । पर्वत –म्याग्दी जोड्ने बेनीस्थित कालिगण्डकी नदीमा पुल निर्माण गर्न बाँकी छ ।

यसैगरी हाल कामचलाउको रुपमा रहेको पर्वतको मिलनचोक, लप्सी खोला, दमुवा खोलालगायतमा पुल निर्माणको आवश्यकता देखिन्छ ।

राष्ट्रिय गौरवको कोरला सडक अन्तर्गत बेनी–जोमसोम सडकको म्याग्दी खण्डको तीन स्थानमा पहिरो रोकथाम भइरहेको छ, म्याग्दीको गुइठेभीर, खामभित्ता र बैसरीमा पहिरो रोकथामकार्य भइरहेको योजना प्रमुख शर्माले बताउनुभयो ।

कोरला सडक योजनाका अनुसार चालु आवमा पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्मको सडक अन्तर्गत जुके खोला, केराबारी र लाटी खोलामा गरी तीन स्थानमा पहिरो रोकथामका योजना अघि बढाइने भएको छ ।

यसैगरी बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको सिरुबारी, महभीर, नौनीबगर र सुकेबगरमा गरी चार स्थानमा थप पहिरो थोकथामका योजना थपिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.