झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक

एजेन्सी- चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको निधनपछि उहाँको अन्त्येष्टिअघि मङ्गलबार बेइजिङका सरकारी भवन तथा तियानमेन स्क्वायरमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ । गत साता ९७ वर्षको उमेरमा निधन हुनुभएका झुको योगदानलाई सामाजिक सञ्जालमा पनि स्मरण गरिएको छ ।
सन् १९९८ देखि पाँच वर्ष प्रधानमन्त्री रहनुभएका झु चिनियाँ अर्थतन्त्रको निर्णायक पुनर्गठन, भ्रष्टाचारविरुद्धको कडा अभियान र राज्यको स्वामित्वमा रहेका अक्षम संस्थान सुधारका लागि परिचित हुनुहुन्थ्यो । उहाँको कार्यकालमा चीनलाई विश्व अर्थतन्त्रसँग थप जोड्ने महत्त्वपूर्ण आर्थिक सुधार अघि बढाइएको थियो ।
एएफपीका पत्रकारहरूले मङ्गलबार बेइजिङका सरकारी भवनमा झण्डा आधा झुकाइएको देखेका छन् । राजधानीको केन्द्रमा रहेको तियानमेन स्क्वायरमा पनि झण्डा आधा झुकाइएको थियो । अत्यधिक सुरक्षा व्यवस्था रहने तियानमेन स्क्वायरमा झुको सम्मानमा गरिएको श्रद्धाञ्जलि चिनियाँ सामाजिक सञ्जाल वेइबोमा समेत शीर्ष चर्चाको विषय बनेको छ ।
वेइबोमा एक प्रयोगकर्ताले झुले देशका लागि गर्नुभएको योगदानप्रति धन्यवाद दिँदै उहाँलाई सधैँ सम्झिइरहने उल्लेख गरेका छन् । झुप्रति व्यक्त गरिएको श्रद्धाञ्जलीले आर्थिक सुधारका क्रममा उहाँले खेलेको भूमिकाप्रतिको जनस्मरणलाई पनि उजागर गरेको छ ।
चिनियाँ राज्य समाचार संस्था सिन्ह्वाले झुलाई ‘उत्कृष्ट सर्वहारा क्रान्तिकारी तथा राजनीतिज्ञ’ का रूपमा स्मरण गरेको छ । सिन्ह्वाका अनुसार झुको शव मङ्गलबार बेइजिङमा दाहसंस्कार गरिनेछ । त्यसअघि सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूको सहभागितामा औपचारिक बिदाइ कार्यक्रम आयोजना गरिनेछ ।
सन् १९२८ मा मध्य चीनमा जन्मिनुभएका झु सन् १९४९ मा माओत्सेतुङको नेतृत्वमा कम्युनिस्ट क्रान्ति सफल भएपछि पार्टी संरचनामा अघि बढ्नुभएको थियो । उहाँले साङ्घाईको मेयर, राष्ट्रिय उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
झुको प्रधानमन्त्री कार्यकाल चीनका तत्कालीन राष्ट्रपति जियाङ जेमिनको कार्यकालसँगै अघि बढेको थियो । जियाङको सन् २०२२ मा निधन भएको थियो । दुवै नेताको कार्यकालमा चीनले तीव्र आर्थिक सुधार र विश्व अर्थतन्त्रमा आफ्नो सहभागिता विस्तार गरेको थियो ।
झुले सरकारी स्वामित्वका घाटामा रहेका तथा अक्षम कम्पनीको पुनर्संरचना र विघटनलाई अघि बढाउनुभएको थियो । यस्ता कदमले ठूलो आर्थिक तथा सामाजिक प्रभाव पारे पनि चीनको राज्य सञ्चालित अर्थतन्त्रलाई थप प्रतिस्पर्धी बनाउने प्रयासका रूपमा त्यसलाई हेरिएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्