नेपाल टेलिकम र नेपाल टेलिभिजनबीच सहकार्य हुने

काठमाडौँ- नेपाल टेलिकम र सार्वजनिक सेवा प्रसारण, नेपाल टेलिभिजनबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

आम नागरिकलाई प्रभावकारी टेलिकम सेवा र विश्वसनीय सूचना तथा समाचार सेवा प्रवाह गर्न टेलिकम र नेपाल टेलिभिजनबीच सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

आर्थिक वर्ष २०८३/८४ का लागि गरिएको सम्झौताले राज्य मातहतका दुवै संस्थाले नागरिकलाई प्रदान गर्ने सेवा, सूचना र समाचारलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

सम्झौतामा नेपाल टेलिकमका तर्फबाट प्रवन्ध निर्देशक संगीता पहाडी अर्याल र सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनका तर्फबाट कामु प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यातले नेपालको दूरसञ्चार संस्था र आम सञ्चारका अग्रणी संस्थाहरुबीचको सहकार्यले सूचना र दूरसञ्चार सेवा प्रवाह तथा विस्तारलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले नागरिकमा प्रभावकारी पहुँच राख्ने नेपाल टलिभिजनसँगको सहकार्यले टेलिकमको प्रवर्द्धन र विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका कामु प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले राज्य मातहतका दुवै संस्थाले सेवा प्रवाह र व्यापकताका लागि आफ्ना भौतिक पूर्वाधारहरुमा समेत साझेदारी विस्तार गर्न सके राज्य नै लाभान्वित हुन सक्ने धारणा राख्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.