अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट

चितवन- भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली विकास गरेको छ । अस्पतालको वेबसाइटमा गएर रिपोट हेर्न सकिने व्यवस्था गरिएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेका अनुसार ‘ल्याब रिपोर्ट’मा क्लिक गरेपछि युजरनेम र पासवर्ड राख्ने विकल्प आउँछ, जुन उपचार शुल्क तिर्दा प्राप्त बिलमा नै उल्लेख गरिएको हुन्छ । सोही युजरनेम र पासवर्ड प्रयोग गरी बिरामीले आफ्नो प्रयोगशालाको नतिजा अनलाइनबाटै हेर्न र प्रिन्ट गर्न सक्ने उहाँले जानकारी दिनुभयो ।

यसैगरी अस्पतालमा जडान गरिएका दुई भेन्डिङ मेसिनबाट पनि बहिरङ्ग (ओपिडी) टिकट र प्रयोगशाला रिपोर्ट दुवै लिन मिल्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । यसले बिरामीलाई काउन्टरमा लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति दिने प्रमुख मेडिकल सुपरिटेण्डेण्ट बगाले जानकारी दिनुभयो

अस्पतालमा दैनिक तीन हजार ८०० बिरामी बहिरंग सेवाका लागि आउने गरेको तथ्याङ्क छ । सेवा सुविधामा भइरहेको सुधारसँगै बिरामीको चाप पनि उत्तिकै बढ्दै गएको डा बगालेले बताउनुभयो । ६२० शय्या सञ्चालनमा रहेको भरतपुर अस्पतालमा चितवनसहित छिमेकी २५ जिल्लाका बिरामी उपचारका लागि आउने गर्छन् ।

स्वास्थ्य बीमामार्फत् सेवा दिनमा पनि यो अस्पताल अग्रणी मानिन्छ । सरकारले निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द गरेपछि बीमामार्फत् उपचार गराउन भरतपुर अस्पताल आउनेको सङ्ख्या क्रमशः बढ्दै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.