रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी,उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ- रसुवाको भोटेकोसी नदीमा तिब्बततर्फबाट ठुलो बाढी आएको छ । बाढी प्रवेश गरेपछि त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीका कारण के कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त हुन सकेको छैन ।
बाढी पूर्वानुमान महाशाखाले बिहान ९:१५ बजे सूचना जारी गर्दै अर्को सूचना नआएसम्म त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
महाशाखाका अनुसार भोटेकोसी नदीमा ठुलो बाढी प्रवेश गरेकाले त्यसको असर त्रिशुली नदीमा समेत पर्न सक्ने देखिएको छ।
यसै बीच सूचना तथा संचारमन्त्री विक्रम तिमिल्सिनाले बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको दुःखद समाचार प्राप्त भएको जानकारी दिनु भएको छ ।
सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन, उद्धार तथा राहत तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न निर्देशन दिइसकेको संचारमन्त्रीले जानकारी गराउनु भएको छ ।
”रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई विशेष सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु।नदी किनार, पहिरोको जोखिम भएका स्थान तथा अनावश्यक यात्रा नगर्नुहोस्। स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आधिकारिक निकायबाट जारी सूचना र चेतावनीलाई पालना गर्नुहोस्। यो अवस्था अझै विकसित हुन सक्ने भएकाले अफवाहभन्दा आधिकारिक सूचनामा विश्वास गरौँ एकअर्कालाई सचेत गरौँ र आवश्यक परे तत्काल सम्बन्धित निकायलाई जानकारी गराऔँ।मन्त्रीतिम्सिनाले भन्नु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्