बाढीमा अभिभावक गुमाएका बालबालिकाको आवाससहित कक्षा १२ सम्मको शिक्षा प्रदेश सरकारले व्यहोर्ने

हेटौंडा- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण आमाबाबु गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने निर्णय गरेको छ ।बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा र आवासको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरत केसीका अनुसार रसुवासहित नुवाकोट, धादिङ र चितवनमा बाढीका कारण अभिभावकविहीन बनेका बालबालिकाको संरक्षण र शिक्षामा निरन्तरता सुनिश्चित गरिनेछ ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले प्रदेश विपद् व्यवस्थापन कोष परिचालनसम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय गरेको छ ।यसअघि प्रदेश विपद् व्यवस्थापन कोषबाट रकम सम्बन्धित जिल्लाको जिल्ला विपद् व्यवस्थापन कोषमा पठाउनुपर्ने व्यवस्था थियो । उक्त व्यवस्थाका कारण विपद्का बेला रकम परिचालन र खर्च गर्न प्रक्रिया झन्झटिलो हुने तथा संघीय कानुनअनुसार थप प्रक्रिया पूरा गर्नुपर्ने भएकाले कार्यविधि संशोधन गर्न लागिएको मन्त्री केसीले बताउनुभयो ।
संशोधित व्यवस्थाअनुसार अब आवश्यकता र परिस्थितिका आधारमा विपद् व्यवस्थापनका लागि जिल्ला तथा स्थानीय तहमै रकम पठाउन सकिने व्यवस्था गरिनेछ । यसबाट विपद् प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन सहज हुने प्रदेश सरकारले जनाएको छ ।यस्तै, मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन तथा श्रम, रोजगार तथा यातायात मन्त्रालयको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.