असोज १ देखि दुईतर्फी यातायात सञ्चालन हुने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसद्मा गरेको घोषणाअनुसार पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम भदौभित्रै सम्पन्न भएको छ।
प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले सञ्चालन गरेको खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनबारे भदौ १७ गते प्रतिनिधिसभामा जानकारी दिँदै कृष्णभीरमा अवरुद्ध सडक भदौ महिनाभित्र सञ्चालनमा ल्याउने घोषणा गर्नु भएको थियो ।
सोही घोषणाअनुसार पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा भदौ २८ गतेदेखि कृष्णभीरमा परीक्षणका रूपमा यातायात सञ्चालन भइरहेको छ। आगामी असोज १ गतेदेखि भने उक्त सडकखण्डमा दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।
भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो। त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले पर्खाल भत्काएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
त्यसपछि पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा चार दिनसम्म द्रुत अध्ययन गरेको थियो। अध्ययनका क्रममा कृष्णभीरको पहाड काटेर करिब २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गर्ने विकल्प अघि सारिएको थियो।
प्राविधिकको सुझावअनुसार भदौ १९ गतेदेखि रुख कटान सुरु गरी त्यसपछि ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड काटेर नयाँ ट्रयाक निर्माण गरिएको हो।
ट्रयाक निर्माणमा प्राविधिकसहित ५० जनाले दैनिक १२ देखि १६ घण्टासम्म काम गरेका थिए। काम सुरु भएको १०औँ दिन अर्थात् भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही सवारी साधन परीक्षणका रूपमा सञ्चालनमा आएका छन्। त्यसयता बिहान र बेलुका अत्यावश्यक सवारीसाधन आवतजावत गरिरहेका छन्।
हाल सडकमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ। ग्राभेलको काम भोलिसम्म पूरा गर्ने र असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।






प्रतिक्रिया राख्नुहोस्