थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

तुलसीपुर (दाङ)- भापमा पाकेको तातो ढिक्री र थारू समुदायको परम्परागत स्वाद बोकेको घोंगी । थारू भान्सामा परापूर्वकालदेखि पाक्दै आएका यस्तै मौलिक परिकारहरु अब गाउँघर र पर्वमा मात्र सीमित छैनन् । यी परिकारलाई बजारीकरण गरेर आम्दानीको स्रोत बनाउन थालिएको छ ।

शनिबारमात्रै दाङको घोराहीमा थारू समुदायका परम्परागत परिकारहरू उपलब्ध गराउने उद्देश्यले ‘ढिक्री घर’ सञ्चालनमा ल्याइएको छ । थारू समुदाय संस्कार, संस्कृति, खानपान, रहनसहनका हिसाबले धनी समुदाय भए पनि पछिल्लो समय लोप हुँदै गएको भन्दै त्यसलाई संरक्षण गर्नका लागि ‘ढिक्री घर’ खोलिएको सञ्चालक रोशन रत्गैयाले बताउनुभयो ।

बजारमा विभिन्न समुदायका सांस्कृतिक खानपान र रेस्टुरेन्टहरूको बाक्लो उपस्थिति भए पनि थारू संस्कृतिको खानपान भने व्यावसायिक रूपमा अझै पछाडि र कमजोर रहेको भन्दै सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।

विशेषगरी चामलको पीठोबाट बनाइने ढिक्री र तराईको मौलिक तथा लोकप्रिय स्वाद घोंङी, अनदीको भात, भक्का, सँुगुरको मासु, हाँसको मासु, लोकल कुखुराको मासु, गङ्गटालगायत थारू समुदायको पहिचानका रूपमा रहेका सबै परिकार उपलब्ध हुने सञ्चालक जितेन्द्र चौधरीले बताउनुभयो । “थारू समुदायको पहिचानका रूपमा जुन–जुन खाना छन्, ती सबै खानालाई हामीले उपलब्ध गराउने छौँ”, उहाँले भन्नुभयो, “यसले हाम्रो खानपानलाई व्यावसायिकमात्रै होइन, पहिचान जोगाउन पनि मद्दत पुग्ने अपेक्षा लिएका छौँ ।”

ढिक्री थारू समुदायको महत्त्वपूर्ण परिकार भएको भन्दै यस्ता परिकारलाई व्यावसायिकरण गर्नु सकारात्मक कुरा रहेको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताउनुभयो । थारू समुदायका परिकार स्वास्थ्यका हिसाबले पनि उत्तम रहने भएकाले धेरैले मन पराउने गरेको भए पनि बजारीकरण हुनसकेको थिएन । तर पछिल्लो समय यसलाई व्यावसायिक बनाउँदा आम्दानीको स्रोत पनि बनेको र स्वरोजगार पनि सृजना भएको बताउनुभयो ।

जिल्ला पछिल्लो समय यसरी थारू समुदायको परिकारलाई व्यावसायिक बनाउन थालिएको छ । केही समयअघि घोराहीमा कविला रिसोर्ट, दङ्गीशरणमा थारू होमस्टे, तुलसीपुरमा थारू मिन्हीघरलगायतका व्यवसाय सञ्चालन गरेर थारू समुदायको परिकारलाई बजारीकरण गर्ने अभ्यास थालिएको छ ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थारू समुदायलाई तालिम दिएर परम्परागत परिकारहरूको बजारीकरण गर्न थालिएको बताउनुभयो । उहाँले दाङसहित विभिन्न जिल्लाका थारू समुदायलाई तालिम प्रदान गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.