मन्त्री सिता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
बाढीपछिको पुनर्स्थापना र मानव बेचबिखन नियन्त्रणमा सहकार्य बढाउने प्रतिबद्धता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत सुश्री मेघन बोल्डिनबीच भेटवार्ता भएको छ।
भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, रसुवा लगायत बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको हो।
भेटवार्तामा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको आकस्मिक बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो। उहाँले बाढीबाट प्रभावित समुदायको अवस्था र पुनर्स्थापनाका प्रयासबारे चासो व्यक्त गर्दै नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।
मन्त्री बादीले नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४७ देखि कायम कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, विश्वास, विकास सहकार्य र जनस्तरीय सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सन् २०२६ अगस्ट २६ मा नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको बाढीबाट महिला, किशोरी तथा बालबालिकाको सुरक्षा, संरक्षण र शिक्षामा थप चुनौती सिर्जना भएको जानकारी गराउँदै प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणमा अमेरिकी सहयोग र सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।
भेटमा मन्त्री बादीले बाढी प्रभावित समुदायको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि नेपाल सरकारले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरी काम गरिरहेको जानकारी दिनुभयो। मन्त्रालयले आफ्नो कार्यक्षेत्रभित्र जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको संरक्षण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो।
भेटवार्तामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका विषयमा समेत विस्तृत छलफल भएको थियो। अमेरिकी विदेश मन्त्रालयको Trafficking in Persons (TIP) Report मा उठाइएका विषय तथा सुझावलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको जानकारी गराउँदै मन्त्री बादीले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२ तथा राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा रहेको बताउनुभयो। पीडितको संरक्षण, अनुसन्धान तथा अभियोजन, पुनर्स्थापना र सहायता संयन्त्रलाई थप प्रभावकारी बनाउने काम अघि बढिरहेको उहाँले जानकारी दिनुभयो।
राजदूत बोल्डिनले पनि मानव बेचबिखन नियन्त्रण तथा पीडितको संरक्षणका क्षेत्रमा नेपालसँग मिलेर काम गर्ने अमेरिकी प्रतिबद्धता व्यक्त गर्नुभयो। आगामी TIP प्रतिवेदनमा नेपालले गरेका सुधार तथा हासिल गरेको प्रगति वस्तुनिष्ठ र सन्तुलित रूपमा प्रतिबिम्बित हुने अपेक्षा समेत भेटमा व्यक्त गरिएको थियो।
नेपालले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ संशोधन प्रक्रिया अघि बढाएको तथा सुरक्षित, व्यवस्थित र नियमित श्रम आप्रवासन प्रवर्द्धन गर्न राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ अपनाएको जानकारी पनि दिइएको थियो। महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा अन्य सीमान्तकृत समुदायको संरक्षण, समावेशिता र सशक्तीकरणका क्षेत्रमा नेपाल–अमेरिका सहकार्यलाई थप परिणाममुखी बनाउने विषयमा समेत जोड दिइएको छ।






प्रतिक्रिया राख्नुहोस्