भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विद्युत प्राधिकरणको आग्रह

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले कात्तिक १३ र १४ गते देशका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कात्तिक ९ गते जारी गरेको विशेष मौसम बुलेटिन अनुसार पश्चिमी चक्रवातका कारण मौसम प्रतिकूल हुन सक्ने भएकाले सम्भावित जोखिमबाट जोगिन प्राधिकरणले सबैमा अनुरोध गरेको हो।

प्राधिकरणले प्रतिकूल मौसमका कारण विद्युत् संरचनामा क्षति पुग्न सक्ने र विद्युत् सेवा अवरुद्ध हुन सक्ने भएकाले सम्भावित जोखिमको आकलन गरी सुरक्षित स्थानमा रहन तथा आकस्मिक अवस्थामा आत्तिएर गलत कदम नचाल्न आग्रह गरेको छ।

विद्युत् उपकरण प्रयोग गर्दा सावधानी अपनाउन, आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार मान्न र सोही अनुसार आफ्ना गतिविधि सञ्चालन गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ।

विद्युत अवरोध भएमा वा विद्युत संरचनामा क्षति पुगेको देखिएमा सम्बन्धित वितरण केन्द्र वा हेल्पलाइनमा सम्पर्क गरी जानकारी दिन प्राधिकरणले आग्रह गरेको छ।

विद्युत् सेवा अवरुद्ध हुँदा वा विद्युत संरचनामा क्षति पुग्दा सम्बन्धित वितरण केन्द्र वा हेल्पलाइन नम्बर ११५० मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ।

साथै, सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन र विद्युत् सेवासम्बन्धी जानकारीका लागि प्राधिकरणको वेबसाइट nea.org.np/nolights हेर्न पनि अनुरोध गरिएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.