गाउँघरमा ढिकी, जाँतो, पानीघट्ट र कोल देख्नै मुस्किल

म्याग्दी- आधुनिक प्रविधिको विस्तारसँगै म्याग्दीका गाउँघरमा कुनै समय दैनिक जीवनको अभिन्न अङ्ग बनेका ढिकी, जाँतो, पानीघट्ट, कोल र ओखलजस्ता परम्परागत साधनको प्रयोग घट्दै गएको छ ।
कुटानी–पिसानी गर्नका लागि विद्युतीय मिलको प्रयोग बढेपछि पुर्खाले आफ्नै सीप, श्रम र स्थानीय स्रोतसाधनको उपयोग गरी निर्माण गरेका यी साधनहरु संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका हुन् ।
केही दशक अघिसम्म गाउँका अधिकांश घरहरुमा भेटिने ढिकी र जाँतो अहिले कमै मात्रामा देख्न पाइन्छ ।
जिल्लाका दुर्गम वस्तीमा समेत विद्युत् सुविधा विस्तार भएपछि खाद्यान्न कुट्ने र पिस्ने कामका लागि विद्युतीय मिलको प्रयोग बढेको छ । छोटो समयमा धेरै काम गर्न सकिने र शारिरीक श्रम समेत कम गर्नुपर्ने भएपछि परम्परागत साधनको उपयोग घट्दै गएको स्थानीयवासी बताउँछन् ।
पहिले गाउँघरमा डिजेल र पानीबाट चल्ने मिलको प्रयोग धेरै हुने गरेकोमा पछिल्लो समय विद्युतीय मिलले त्यसको स्थान लिएको छ ।
आधुनिक प्रविधिमा आएको परिवर्तनसँगै गाउँका पुरानो जीवनशैलीसँग जोडिएका सरसामानहरु हराउँदै गएको म्याग्दीको बेनी नगरपालिका-५ चिप्लेटीका पूर्णबहादुर कार्कीले बताउनुभयो ।
आजभोलि बिजुलीबाट चल्ने मिलमा कुटानी–पिसानी हुन थालेपछि पहिलाका ढिकी जाँतोलगायत सामान प्रयोगविहीन बन्दै जान थालेको उहाँले बताउनुभयो ।
परम्परागत साधनको प्रयोग घट्दै जानु प्रविधिमा आएको परिवर्तनको परिणाम मात्र नभई पुर्खाको सीप र कला नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु पनि हो ।
विगतका समयमा ग्रामीण परिवारको दैनिक आवश्यकता पूरा गर्ने यी साधनहरु अहिले नयाँ पुस्ताका लागि अपरिचित बन्दै गएका छन् । विगतमा धान कुट्न ढिकी प्रयोग गरिन्थ्यो ।
जाँतो र पानीघट्टमा मकै, कोदो, गहुँ, जौ र चामललगायत खाद्यान्नहरु पिस्ने गरिन्थ्यो । यसैगरी कोलमा तोरी, उखु र कागती पेलेर रस निकाल्ने चलन थियो ।
स्थानीयस्तरमा उपलब्ध काठ, ढुङ्गा र अन्य स्रोतसाधनको उपयोग गरी स्थानीय सीपका आधारमा बनाइएका सामग्रीले गाउँलेको जीविकोपार्जनमा महत्वपूर्ण सहयोग पुर्याएका थिए ।
बेनी नगरपालिका ५ गाजनेका स्थानीय निलकण्ठ शर्माले गाउँघरमा प्रयोग हुँदै आएका पुराना साधनहरुको महत्व बुझाउन र तिनको संरक्षण गर्न आवश्यक ध्यान दिनुपर्ने बताउनुभयो । आधुनिक प्रविधिका कारण दैनिक काम सहज भए पनि परम्परागत साधनको महत्व बिर्सन नहुने उहाँको भनाइ छ ।
गाउँघरमा अझै पनि बाँकी रहेका ढिकी, जाँतो, पानीघट्ट, कोल र ओखलको पहिचान गरी संरक्षण गर्नसके तिनलाई स्थानीय सांस्कृतिक सम्पदाको रूपमा विकास गर्न सकिन्छ । पुराना साधनको संरक्षणसँगै निर्माणमा प्रयोग भएका सीप र प्रविधिबारे नयाँ पुस्तालाई जानकारी गराउने हो भने पुर्खाको ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न पनि सहयोग पुग्नेछ ।
ढिकी, जाँतो र पानीघट्टमा कुटिएका तथा पिसिएका खाद्यान्नहरु मानव स्वास्थ्यका लागि निकै लाभदायक हुने जनविश्वास समेत स्थानीयसँग छ । परम्परागत साधनमा तयार पारिएका खाद्यान्न शरिरका लागि आडिलो तथा रोग प्रतिरोधात्मक क्षमता पनि बढी हुने बुढापाकाको भनाइ छ ।।






प्रतिक्रिया राख्नुहोस्