चक्रवात ‘अर्णव’को प्रभावले देशभर वर्षा, शनिबार दिउँसोपछि मौसममा सुधार हुने

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावका कारण नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

शुक्रबार साँझसम्म काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा जारी रहँदा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज राति र भोलि दिउँसोसम्म मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

केही स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोशीमा सबैभन्दा बढी ५०.२ मिलिमिटर वर्षा मापन भएको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ ।

शनिबार दिउँसोपछि भने चक्रवातको प्रभाव क्रमशः कमजोर हुँदै जाने प्रक्षेपण गरिएको छ ।

वर्षाका कारण चिसो बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरो, हिमाली क्षेत्रमा हिमपहिरो र हिमआँधी तथा सडक र हवाई यातायातमा अवरोध हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

धानबाली भित्र्याउने किसानलाई पनि मौसममा सुधार नआएसम्म धान नकाट्न सुझाव दिइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.