नावा खोलामा यात्रुबाहक बस फस्यो, यात्रुको उद्धार

धनकुटा- ताप्लेजुङबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस शुक्रबार अपराह्न तमोर करिडोर अन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती क्षेत्र नावा खोलामा फसेको छ ।
निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
बसमा सवार सबै यात्रुलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए ।
बस फसेपछि बसमा रहेका करिब ३० जना यात्रुहरुलाई जेसिविको सहायताले सुरक्षित स्थानमा सारिएको राजवंशीको भनाइ छ
प्रदेश १–०१–००१ ख– ४२३३ नम्बरको बस नावा खोलामा फसेको हो ।
बिहीबार बिहानैदेखि भइरहेको वर्षाका कारण नावा खोलासहित विभिन्न खोलामा पानीको सतह बढेको छ ।
खोलामा पानीको बहाव उच्च भएपछि तमोर करिडोर सडकखण्डमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ ।
कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङ र सुनसरीका तराई क्षेत्रलाई धनकुटा हुँदै पाँचथर, तेह्रथुमबाट हिमाली जिल्ला ताप्लेजुङसँग जोड्ने महत्वपूर्ण मार्गका रुपमा तमोर करिडोर रहेको छ ।
तर, नावा खोलामा हालसम्म पक्की पुल निर्माण नहुँदा वर्षायाममा बाढी आउनेबित्तिकै सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ ।
पुल निर्माणको ठेक्का लागेपनि पटकपटक म्याद थप हुँदा पनि निर्माण सम्पन्न हुन सकेको छैन । जसले गर्दा यात्रु तथा स्थानीयवासीले आवतजावतमा सास्ती खेप्दै आएका छन् ।।






प्रतिक्रिया राख्नुहोस्