३३ लाख घुससहित मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई भ्रष्टाचारको अभियोगमा अदालतबाट म्याद लिएर अख्तियारले थुनामा राखी अनुसन्धान अघि बढाएको छ ।
घिमिरेलाई विशेष अदालतको आदेशबाट घुस भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञप्तिमार्फत जनाएको छ । निर्माण व्यवशायीसँग तेत्तिस लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित घिमिरेलाई अख्तियारले भक्तपुरको निकोसेराबाट पक्राउ गरेको थियो ।
घिमिरेले ठेक्का सम्झौता बमोजिमको नियमानुसार बाँकी किस्ता मोबिलाइजेसन फण्डको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिएको र बाँकी काममा सहजीकरण गरीदिने भनी घुस माग गरेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा निगरानी राखिएको र घुस लेनदेन भैसकेपछि पक्राउ गरिएको आयोगले जनाएको छ ।
यसैबीच आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसमेत छ जनाविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आचार्यले नौ करोड ७२ लाख ७१ हजार ९८९ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्