इरानसँगको वार्तामा प्रगति भएको छैन: विदेशमन्त्री रुबियो

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासमा कुनै ठोस प्रगति हुन नसकेको बताउनुभएको छ । उहाँले तेहरानका मागहरू अस्वीकार्य, अपमानजनक र हास्यास्पद रहेको टिप्पणी गर्दै तत्काल सम्झौताको सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ ।

जी–७ विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन पेरिस प्रस्थान गर्नुअघि फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले विभिन्न मुलुकले अमेरिका र इरानबीच मध्यस्थता गरिरहेको भए पनि वार्ता सफलताको नजिक नपुगेको बताउनुभयो । राष्ट्रपति डोनाल्ड ट्रम्प कूटनीतिक समाधानको पक्षमा रहनुभएको उल्लेख गर्दै उहाँले इरानका मागहरू व्यावहारिक नरहेको टिप्पणी गर्नुभयो ।

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई सबै मोर्चामा युद्ध अन्त्य गर्ने तेहरानको प्रस्ताव स्वीकार गर्न वा कडा सैन्य प्रतिकारको सामना गर्न चेतावनी दिनुभएको छ । आइतबार सामाजिक सञ्जाल एक्समार्फत उहाँले अमेरिकी मतदाताले आफ्नो निर्णय गरिसकेको उल्लेख गर्दै अब युद्ध अन्त्य गर्ने वा क्षेत्रीय द्वन्द्व चर्काउने भन्ने निर्णय वासिङ्टनको हातमा रहेको बताउनुभयो ।

अराघचीले इरानको दुईदिने प्रस्ताव अझै कायम रहेको जनाउँदै सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने सर्त पूरा गर्न अमेरिकालाई आग्रह गर्नुभएको थियो । प्रस्ताव अस्वीकार गरी युद्ध रोजेमा इरानी सेनाले कडा जवाफ दिने उहाँको चेतावनी थियो ।

तेहरानमा पत्रकारहरूसँग कुरा गर्दै अराघचीले अमेरिकी मध्यावधि निर्वाचनको नतिजाका कारण युद्ध अन्त्यका लागि भइरहेका मध्यस्थताका प्रयास रोकिएको बताउनुभयो । निर्वाचनको परिणामले सबैलाई स्तब्ध पारेको उल्लेख गर्दै उहाँले मध्यस्थकर्ताहरूले पुनः संवाद सुरु गर्न अनुकूल वातावरण बन्न केही समय लाग्ने बताउनुभयो ।l

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.