बजारमा फूलमाला र भाइटीकाका सामग्री किन्नेको भीडभाड

काठमाडौँ- तिहारको मुख्य दिन भाइटिका नजिकिएसँगै बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ ।

दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिने र दीर्घायु तथा सुख, समृद्धिको कामना गर्दै पूजा गर्ने पर्वका लागि आवश्यक सामग्री किन्न सर्वसाधारण बजार पुग्न थालेका छन् ।

काठमाडौँका असन, इन्द्रचोक, न्युरोड, भोटाहिटी, नयाँ बानेश्वरलगायतका बजारमा फूलमाला, भाइ मसला, मिठाई तथा पूजाका सामग्री किन्ने ग्राहकको चहलपहल बढेको छ ।

भाइटिकाका लागि विशेष मानिने मखमली र सयपत्री फूलका माला, ओखर, काजु, बदाम, किसमिस, नरिवललगायतका भाइ मसलाको माग पनि बढेको छ ।

त्यसैगरी सप्तरङ्गी टीका, दियो, कलश तथा अन्य पूजाका सामग्री किन्नेको पनि बजारमा बाक्लो उपस्थिति छ ।

तिहारमा दाजुभाइलाई उपहार दिन मिठाई तथा आकर्षक प्याकिङ गरिएका भाइ मसलाका प्याकेट किन्ने चलनसमेत बढ्दै गएको छ ।

यस वर्ष फूलमालाको माग उच्च रहे पनि स्वदेशी उत्पादनले ठूलो हिस्सा धानेको सरकारी भनाइ छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार काठमाडौं उपत्यकामा यस वर्ष तिहारका लागि करिब ५१ लाख ८० हजार फूलमालाको माग अनुमान गरेर उपलब्ध गराइएको छ ।

त्यसो त भाइ मसलामा प्रयोग हुने ड्राइफ्रुट्सको मूल्य भने बढेको छ । विशेषगरी पिस्ताको मूल्य प्रतिकिलो चार हजार रुपैयाँसम्म पुगेको छ ।

तिहारको रौनकसँगै बजारका पसलहरू झिलिमिली बत्ती र विभिन्न सजावटले सिँगारिएका छन् । दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, प्रेम र सद्भावको प्रतीकका रूपमा मनाइने भाइटिकाका लागि अन्तिम तयारी भइरहँदा बजारमा चाडपर्वको उत्साह थपिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.