बालुवामा बास खोज्दै सुस्तावासी, वर्षायाम अघि सुरक्षित आवासको व्यवस्था गर्न माग

पश्चिम नवलपरासी- सुस्ता थारुटोलका सुग्रिव यादव अहिले बालुवा र काठदाउराले पुरिएको आफ्नो घर खोजिरहनुभएको छ ।

कुनै समय परिवारको आश्रय बनेको यही घर गत असोज १० गते नारायणी नदीमा आएको बाढीले तहसनहस बनायो । बाढीबाट ज्यान जोगाउन आश्रयस्थल पुग्नुभएका उहाँ एक हप्तापछि फर्किंदा घर बालुवा र काठदाउराले पुरिएको थियो ।

अहिले पनि उहाँले बालुवा र काठदाउरा हटाउदै घरको भग्नावशेषमा समानहरु खोज्दै आउनुभएको छ ।

“खाने कुरा सबै बगायो, लत्ताकपडा छैन्, यहि भएको बास पनि सबै यसरी परिदिएको छ, घर देखाउदै यादवले दुखेसो पोख्नुभयो ।”

यादवको जस्तै सुस्ता थारुटोलका ७० परिवार घर फर्किए पनि उनीहरूको दुःख उस्तै छ । कोही घरबाट बालुवा पन्छाउँदै छन्, कोही बाढीले बगाएका सामान खोज्दै छन् ।

वर्षभरि परिवार पाल्ने अन्नपात र आम्दानीको मुख्य स्रोत उखुबालीसमेत बाढीले क्षति गरेपछि पिडामा रहेका सुस्ताबासीले सरकारसंग सहयोगको माग गरेका छन् ।

स्थानीय सुनाद्धिन खाँले आगामी वर्षायाम अगावै उचित व्यवस्थापन नगरे सुस्ता नबच्ने चिन्ता व्यक्त गर्नुभयो । “अब नारायणी सिधै बस्तीतर्फ आएको छ, अबको वर्षायाममा सुस्ता बच्छ जस्तो लाग्दैन्, खै कस्ले चिन्ता लिने खाँले भन्नुभयो ।”

वर्षभरीको खर्चको जोहो गर्ने उखु बाली समेत बगरमा परिणत भएको भन्दै थारुटोलाका सुस्ताबासीले कसरी दैनिकि चलाउने हो भन्ने चिन्ता व्यक्त गरेका छन् ।

बाढीको चपेटाका कारण चाडपर्वको बेला सुस्ताबासीको मुहारमा खुसि छैन् ।

नारायणी नदीले बस्तीको दश मिटर नजिक सम्म कटान गरेर ठुलो जोखिम खडा गरेको छ ।

यस वर्ष नारायणीको कटानले झन्डै ५० बिघा खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ । ४१ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४३ घरमा आंशिक क्षति पुगेको छ ।

सुस्ता जोगाउन ११ करोड खर्चेर बनाइएको तटबन्धको आधा भाग समेत बाढीले बगाएको छ ।

सुस्ताको बाढीले ठुलो क्षती गरेकाले बस्ती सार्ने तयारी भईरहेको बताउदै प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले आगामी वैशाखसम्म थारुटोलको जोखिमयुक्त बस्ती सुरक्षित स्थान सार्ने गरि तयारी थालिएको बताउनुभयो । खाली जमिनको खोजी कार्य सुरु भएको र बास्तविक पिडितको पहिचान गर्न स्थानीय तहलाई जिम्मा दिएको छौँ, प्रमुख जिल्ला अधिकारी नेपालले भन्नुभयो ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय नेपालको एकल प्रयासले मात्र सुस्ता बचाउन सम्भव नभएको भन्दै भारत संगको समन्वयमा काम गर्नुपर्ने बताउनुहुन्छ ।

“सुस्ताका स्थानीयलाई बिगतमा पनि पारीबाट वारि ल्याएको हो, फेरि गएर त्यहि बस्छन्, कसरी यो समस्या समाधान हुन्छ अब बस्ती बस्न दिनुहुदैन्, अध्यक्ष उपाध्यायले भन्नुभयो । ”

अतिक्रमणको चुनौती झेल्दै आएको ऐतिहासिक भूमी सुस्तामाथि अहिले नारायणी नदीको कटान अर्को संकट बनेको छ । चाडपर्वको बेला सुस्ताबासीको मुहारमा खुसि छैन् ।

बस्ती तर्फ सोझिएको नारायणीले अब सुस्तानै नामेट पार्ने चिन्ताले सुस्ताबासीलाई सताएको छ ।

तीनतिरबाट नारायणी नदी र एकतर्फ भारतीय भूमिले घेरिएको सुस्ता पुग्न तीन वर्ष अगाडी नारायणी नदीमा झोलुङ्गे पुल बनेपछि नेपाल तर्फ आउजाउमा सहज भएको थियो ।

भारतीय अतिक्रमणको चपेटा भोग्दै आएको सुस्तामा अहिले नारायणी नदीले धार परिर्वतन गरेका कारण सुस्ताको ठुलो क्षेत्रफल कटान हुने जोखिम सृजना भएको छ ।

सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले सरकारकाले तत्कालै सुस्ता बचाउनका लागी काम सुरु गर्नुपर्नेमा ढिला सुस्ती भएको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.