प्रजातन्त्रवादी चिकित्सक सङ्घको अध्यक्षमा डा. अमित सिंह कार्की

काठमाडौँ- नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी चिकित्सक सङ्घको अध्यक्षमा डा. अमित सिंह कार्की मनोनीत हुनुभएको छ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला संयोजक रहेको १५औँ नियमित महाधिवेशन तयारी समितिले कार्कीलाई सङ्घको अध्यक्षको जिम्मेवारी दिएको हो ।
नेता कोइरालाले पार्टीको विधानको धारा ४२ (१) बमोजिम कार्कीलाई अध्यक्षमा मनोनीत गर्नुभएको हो । उहाँलाई आगामी छ महिनाभित्र सङ्घको महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्ने जिम्मेवारीसमेत दिइएको छ । कांग्रेसभित्र चिकित्सकहरूको सङ्गठनलाई सक्रिय र व्यवस्थित बनाउने जिम्मेवारीसहित उहाँलाई नेतृत्व दिइएको हो ।
धादिङका डा कार्की लामो समयदेखि स्वास्थ्य तथा चिकित्सा क्षेत्रसँगै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँले पार्टीको १४औँ महाधिवेशनअन्तर्गत २०७८ मङ्सिरमा बागमती प्रदेश सदस्य (खसआर्य) पदमा उम्मेदवारी दिनुभएको थियो । धादिङ कांग्रेसको प्रदेश अधिवेशनमा सर्वाधिक मतसहित कार्की प्रदेश प्रतिनिधि निर्वाचित हुनुभएको थियो । उहाँ धादिङ सामुदायिक क्लिनिक सितापाइलाका सञ्चालकसमेत हुनुहुन्छ ।
यसअघि २०७८ चैतमा नेपाली कांग्रेस बागमती प्रदेशले उहाँलाई प्रदेशको स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी दिएको थियो । पछि २०८० असोजमा पुनः गठित २४ सदस्यीय स्वास्थ्य विभागको प्रमुखमा उहाँ चयन हुनुभएको थियो ।
डा. कार्की नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्वप्रदेशसभा सदस्य डा. राजाराम कार्कीका छोरा हुनुहुन्छ । डा. राजाराम कार्कीको २०८० भदौ ६ गते निधन भएको थियो । उहाँ नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो ।
प्रजातन्त्रवादी चिकित्सक सङ्घको अध्यक्षमा मनोनीत भएपछि डा. अमित सिंह कार्कीले नेपालटिभीअनलाइनसँग कुरा गर्दै आगामी छ महिनाभित्र महाधिवेशन सम्पन्न गरी सङ्गठनलाई नयाँ नेतृत्व हस्तान्तरण गर्ने बताउनुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्