ऊर्जा तथा जलस्रोत क्षेत्रमा नेपाल–भारत सहकार्य विस्तार गर्ने विषयमा छलफल

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच नेपाल–भारतबीच ऊर्जा तथा जलस्रोतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।
मन्त्रालयमा मंगलबार भएको शिष्टाचार भेटवार्तामा मन्त्री श्रेष्ठले राजदूत दलेलालाई सफल कार्यकालको शुभकामना दिँदै दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन ऊर्जा तथा जलस्रोतका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । भेटमा भूमिगत जलस्रोतको पुनर्भरणसम्बन्धी अध्ययन तथा अनुसन्धानमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो ।
त्यसैगरी, अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तार, निर्माणाधीन परियोजना निर्धारित समयमै सम्पन्न गर्ने तथा नेपालबाट विद्युत् निर्यातको सीमा बढाउन आवश्यक सहजीकरण गर्ने विषयमा विचारविमर्श भएको छ ।
नेपालमा सौर्य ऊर्जाको विकास र विस्तारका लागि भारतीय पक्षसँग सहकार्य गर्ने सम्भावनाबारे समेत छलफल भएको मन्त्रालयले जनाएको छ । दुवै पक्षले ऊर्जा तथा जलस्रोतका क्षेत्रमा आपसी सहकार्यलाई थप प्रभावकारी बनाउँदै द्विपक्षीय हितका आयोजनालाई गति दिनुपर्नेमा जोड दिएका छन् ।






प्रतिक्रिया राख्नुहोस्