गौर भन्सारको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि

रौतहट- गौर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा राजस्व सङ्कलनमा उल्लेखनीय सफलता हासिल गरेको छ। साउनदेखि कात्तिक मसान्तसम्म कार्यालयले निर्धारित लक्ष्यभन्दा २४.३७ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो।
गौर भन्सार कार्यालयका अनुसार उक्त अवधिमा कुल १६ करोड ६९ लाख ३ हजार रुपैयाँ राजस्व असुली भएको छ। चार महिनाका लागि तोकिएको लक्ष्यको तुलनामा यो उपलब्धि झण्डै ४ करोड रुपैयाँ बढी हो।
मासिक विवरणअनुसार साउनमा ३ करोड १५ लाख रुपैयाँ लक्ष्य राखिएकोमा ३ करोड ५८ लाख ३३ हजार रुपैयाँ सङ्कलन भएको थियो। भदौमा भने ३ करोड ६० लाख रुपैयाँ लक्ष्यका विरुद्ध ३ करोड २४ लाख ८ हजार रुपैयाँ मात्रै राजस्व उठेको थियो।
त्यसपछि राजस्व सङ्कलनमा सुधार देखिएको छ। असोजमा ४ करोड ५० लाख रुपैयाँ लक्ष्य रहेकोमा ५ करोड ९७ लाख ३९ हजार रुपैयाँ असुली भएको थियो। त्यस्तै, कात्तिकमा २ करोड ७० लाख रुपैयाँ लक्ष्यका विरुद्ध ३ करोड ९९ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ।
विशेषगरी असोज र कात्तिकमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएपछि चार महिनाको समग्र उपलब्धि लक्ष्यभन्दा माथि पुगेको हो। भदौमा लक्ष्य पूरा गर्न नसकेको कार्यालयले त्यसपछिका महिनामा भने राजस्व सङ्कलनमा उल्लेखनीय सुधार गरेको छ।
गौर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उपसचिव शुवन शर्माका अनुसार सीमा क्षेत्रमा हुने चोरी निकासी तथा पैठारी नियन्त्रणका लागि विभिन्न निकायसँगको समन्वय र सक्रियताले राजस्व सङ्कलनमा सकारात्मक प्रभाव पारेको छ।
उनले भन्सार कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सक्रियता, नियमित गस्ती तथा निगरानीका कारण अवैध कारोबार नियन्त्रणमा सहयोग पुगेको बताए। भन्सार छलीका गतिविधि न्यूनीकरण हुँदा सरकारी राजस्वमा समेत वृद्धि भएको उनको भनाइ छ।
सीमावर्ती क्षेत्रमा हुने अवैध आयात–निर्यात नियन्त्रण र राजस्व चुहावट रोक्नु गौर भन्सार कार्यालयका लागि प्रमुख चुनौतीका रूपमा रहँदै आएको छ। पछिल्लो चार महिनाको राजस्व विवरणले भने भन्सार प्रशासनको कार्यसम्पादनमा सकारात्मक सुधार आएको सङ्केत गरेको छ।
आगामी महिनामा पनि सीमा क्षेत्रमा निगरानी, अनुगमन र नियन्त्रणका गतिविधिलाई निरन्तरता दिन सकने राजस्व सङ्कलन थप वृद्धि हुने अपेक्षा गरिएको छ।।






प्रतिक्रिया राख्नुहोस्