विवाहपञ्चमीको निम्तो बोकेर जनकपुरधामबाट अयोध्या प्रस्थान गर्यो टोली
जनकपुरधाम– त्रेतायुगीन राम–सीता विवाहको पौराणिक परम्परालाई पुनःजीवन्त बनाउँदै जनकपुरधाममा मनाइने विवाह पञ्चमी महोत्सवको निम्तो दिन यहाँबाट आज एक टोली भगवान् श्रीरामको जन्मभूमि अयोध्या प्रस्थान गरेको छ ।
जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दू परिषद् तथा नागरिक समाजका प्रतिनिधि सम्मिलित टोली अयोध्या–जनकपुरधाम सञ्चालन भएको सरयू–कमला एक्सप्रेस रेलमार्फत अयोध्या गएको हो ।
टोलीले अयोध्या पुगेर विवाह पञ्चमी महोत्सवमा सहभागी हुन भगवान् श्रीरामको जन्मभूमिका बासिन्दा तथा धार्मिक अगुवालाई औपचारिक निमन्त्रणा दिने कार्यक्रम रहेको विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोष साहले जानकारी दिनुभयो । निमन्त्रणासँगै विवाह पञ्चमीमा जनकपुरधाममा हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रमबारे जानकारी गराइने उहाँले बताउनुभयो ।
जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहले विवाहपञ्चमी महोत्सवले जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने बताउनुभयो । उहाँले राम–सीताको वैवाहिक सम्बन्धसँग जोडिएका यी दुई पवित्रस्थलबीचको ऐतिहासिक सम्बन्धलाई निरन्तरता दिन निमन्त्रणा टोली अयोध्या प्रस्थान गरेको जानकारी दिनुभयो ।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको पौराणिक मान्यतासँग जोडिएको परम्परालाई पुनःजीवन्त बनाउने उद्देश्यले टोली अयोध्या गएको उहाँको भनाइ छ ।
टोलीले विवाह पञ्चमी महोत्सवको निमन्त्रणासँगै फलफूल, गरगहना, भाँडाकुँडालगायतका सामग्री समावेश गरिएको भारसमेत लिएर गएको छ । मिथिलाको वैवाहिक संस्कारमा बेहुलापक्षलाई सम्मानपूर्वक भार तथा उपहार पठाउने परम्परा रहिआएको छ ।
जनकपुरधाममा प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीका दिन राम–सीताको विवाहको स्मरणमा सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । महोत्सवका क्रममा राम–सीताको स्वयंवर, तिलकोत्सव, मटकोर, शुभविवाह, रामकलेवा लगायतका धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै आएका छन् ।
विवाह पञ्चमी महोत्सवमा नेपाल तथा भारतका हजारौँ श्रद्धालु सहभागी हुने गरेका छन् । विशेषगरी अयोध्याबाट जन्ती आउने र जनकपुरधाममा मिथिलाको परम्पराअनुसार स्वागत तथा विवाह उत्सव मनाउने चलनले यस महोत्सवलाई विशिष्ट धार्मिक तथा सांस्कृतिक महत्व प्रदान गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्