युवा सम्मेलनको घोषणापत्रका सुझाव कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय युवा सम्मेलन २०२६ बाट तयार हुने ‘काठमाडौँ घोषणापत्र’का सुझावहरू कार्यान्वयनमा लैजान सरकार तत्पर रहेको बताउनुभएको छ ।
राष्ट्रिय युवा सम्मेलन २०२६ लाई सम्बोधन गर्दै मन्त्री यादवले सम्मेलनपछि तयार हुने घोषणापत्रका सुझावमाथि मन्त्रालयमा छलफल गरी कार्यान्वयनको प्रक्रिया अघि बढाइने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप र अनुभवलाई स्वदेशमै अवसरसँग जोड्न ‘रिटर्नी कनेक्ट’ तथा देशभित्रै प्लेटफर्म इकोनोमी विस्तार गर्न ‘श्रम सेवा’ नामका दुई डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो । त्यस्तै, युवा स्वरोजगार कोषमार्फत विनाधितो कर्जा उपलब्ध गराउने, उद्यमशीलता प्रवर्द्धन गर्ने तथा ‘युवा उद्यम सारथी’, ‘कर्मयोगी श्रम सम्मान योजना’ र ‘उद्यम बनाऊ, उद्यम बढाऊ’ लगायतका कार्यक्रम आगामी महिनादेखि ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
मन्त्री यादवले नेपालको इतिहासमै पहिलो पटक निर्माण भइरहेको ‘केयर इकोनोमी पोलिसी’मार्फत आगामी पाँच वर्षभित्र एक लाख युवालाई स्वदेशमै रोजगारी दिने लक्ष्य राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार श्रम तथा रोजगारी क्षेत्रमा रहेका पुराना बेथिति हटाउन नीति, ऐन तथा नियमावलीमा समयानुकूल सुधार भइरहेको छ । पहिलो पटक निर्माण भइरहेको राष्ट्रिय रोजगार ऐनमा सामाजिक उद्यमशीलतालाई समेट्न लागिएको र १९ वर्षपछि वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गरिएको उहाँको भनाइ छ । त्यसैगरी, सङ्घीयतापछि पहिलो पटक राष्ट्रिय युवा ऐन संशोधन गर्ने प्रक्रिया अघि बढाइएको र राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा पहिलो पटक ३५ वर्षमुनिका युवालाई नियुक्त गर्ने प्रस्ताव गरिएको उहाँले बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा जलवायु परिवर्तन, डिजिटल गभर्नेन्स, उद्यमशीलता, मानसिक स्वास्थ्य, खेलकुद, सामाजिक समानता र नागरिक सहभागितालगायतका विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्