सिप र श्रमका आधारमा कैद मिनाहाको नीति ल्याइने छ: गृहमन्त्री लामिछाने

चितवन- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रम र सिपका आधारमा कारागारमा रहेका कैदीहरूको कैद मिनाहाको नीति ल्याइने तयारी भइरहेको बताउनुभयो । भरतपुर कारागारको निरीक्षण गर्दै शनिबार गृहमन्त्री लामिछानेले कैदीबन्दीहरूलाई अब सिप र श्रममा दक्ष बनाइने धारणा पनि राख्नुभयो ।

“अब कुनै पनि नेताको भनसुनका आधारमा हैन । तपाईँको सिप र श्रमका आधारमा कैद मिनाहाको नीति ल्याइने छ”, कैदीबन्दीहरुसग गृहमन्त्रीले भन्नुभयो, “सरकारले कैदीबन्दीहरूलाई श्रम र सिपमा दक्ष बनाउने सम्बन्धमा नीति तथा कार्यक्रममा नै समेटिएको छ अब यसलाई आगामी बजेटबाटै सुनिश्चित गरिने छ ।”

कतिपय अवस्थामा आफूहरू निर्दोष हुँदाहुँदै पनि विनाकारण जेल जीवन बिताउन परेको गुनासो केही कैदीबन्दीहरुले गरेपछि त्यसको जवाफमा गृहमन्त्री लामिछानेले कोही पनि निर्दोष नफसुन् भन्ने सम्बन्धमा अनुसन्धानमा सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

“अदालतको फैसलालाई सबैले सम्मान गर्नुपर्छ । तर यदि नगरेको अपराधकै कारण कसैले दुख पाउनुहुँदैन भन्ने तर्फ पनि सचेत हुन जरुरी छ”, उहाँले भन्नुभयो । उहाँले कारागारलाई बन्दी गृह भन्दा पनि सुधार गृह बनाउन जरुरी रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.