जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
तीस दिन भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मन्त्रीपदबाट राजीनामा दिएसँगै आज बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको पार्टी प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो ।
जसपाले समर्थन फिर्ता लिएसँग प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले ३० दिन भित्र सदन समक्ष विश्वासको मत लिनुपर्ने अवस्था सृजना भएको छ ।

सविधानको धारा १०० मा विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था अन्तर्गत उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्ने ब्यवस्था गरिएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र जसपाले आजै सभामुखलाई पठाएको छ ।

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि सरकारले बहुमत भने गुमाएको छैन ।






प्रतिक्रिया राख्नुहोस्