शीर्ष नेताको बैठक बस्नु अघि प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच देउवा निवास बुढानीलकण्ठमा छलफल भएको छ । सहकारीको बचत अपचलनमा संसदीय छानबिन समिति गठनका लागि सहमति जुटाउन प्रधानमन्त्री प्रचण्ड आज बिहान सभापति देउवा निवास पुगेर भेट गर्नुभएको हो ।

प्रमुख दलहरूबीच सहकारीको बचत अपचलन, हिनामिना, ठगी, दुरूपयोग छानबिन गर्न संसदीय समिति गठन गर्ने सैद्धान्तिक सहमति जुटिसकेको छ । तर कार्यादेशमा कुरा मिल्न सकेको छैन । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आज बैठक बस्दैछ । शनिबारको बैठकमा उक्त विषयमा टुङ्गो लाग्न नसकेपछि बैठक आज बस्ने तय भएको हो ।

कार्यदेश तय गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल बनेको छ । कार्यदलमा एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सांसद जीवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनाल रहनुभएको छ । त्यस्तै कार्यदलको बैठकमा कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुँदै आउनुभएको छ ।

आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक पनि बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.