एक हजार तीन सय दुई जनाले गरे सवारी व्यवस्थापनमा सहयोग

काठमाडौँ- अन्य दिनको तुलनामा बुधबार दिउँसो काठमाडौँका मुख्य तथा व्यस्त चोकमा पहेँलो रङ्गको ‘क्यामाफ्लाइज’ ज्याकेट लगाएर हजारौँ युवायुवती ट्राफिक नियम सिकाउनमा व्यस्त देखिन्थे ।

यसरी पहेँलो रङ्गको ‘क्यामाफ्लाइज’ ज्याकेट लगाएर आ-आफ्नो समयअनुसार दिनभरि एक हजार तीन सय दुई जनाले स्वयम्सेवकका रुपमा सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहयोग गरेका थिए । उनीहरु कुनै नयाँ सङ्घ संस्थाका प्रतिनिधि, विद्यार्थी एवं ट्राफिक प्रहरी नभएर ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेका थिए ।

उनीहरुले बुधबार बिहान ९ बजेदेखि ५ बजेसम्मको समयमा सवारी साधन व्यस्त हुने चोकमा सवारी व्यवस्थापनमा सहयोग गरेका हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेकालाई स्वयम्‌सेवकका रुपमा सडकमा खटाउन सुरु गरेसँगै उनीहरुले पहिलो दिन सवारी व्यवस्थापनमा सहयोग गरेका हुन् ।

उनीहरु खटिएपछि बुधबार काठमाडौँका व्यस्त सडकहरुमा ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न सहज भएको थियो । ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेका एक हजार तीन सय दुई जनालाई काठमाडौँ, ललितपुर र भक्तपुर क्षेत्रमा स्वयम्सेवकका रुपमा सवारी व्यवस्थापनमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेकालाई हामीले स्वयम्सेवकका रुपमा सवारी व्यवस्थापनमा खटाइएका थियौँ, बेलुकी ५ बजेसम्म उहाँहरु खटिनुभएको थियो ।”

स्वयम्सेवकका रुपमा सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोकलगायत ठाउँमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी चालकलाई ट्राफिक नियमको सामान्य ज्ञान दिएर फिल्डमा खटाइएको थियो । ट्राफिक नियम उल्लङ्घन गर्ने प्रत्येकले एक घण्टा स्वयम्सेवकका रुपमा सडकमा खटिनुपर्ने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.