कुवेतमा  कामदार बस्ने एक भवनमा भिषण आगलागीः ४३ बढीको मृत्यु, ४८ जना घाइते

कुवेतमा करिब दुई सय विदेशी कामदार रहेको एक भवनमा बिहानै आगलागी हुँदा ४३ जनाभन्दा बढीको मृत्यु भएको छ ।

आगलागीबाट दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कुवेत सिटीको दक्षिणमा रहेको मङ्गफ क्षेत्रमा आगलागी हुँदा ४८ जना घाइते भएका छन् । मङ्गफ आप्रवासी कामदारहरूको बाहुल्य रहेको क्षेत्र हो ।

कामदारहरूका रोजगारदाताले मन्त्रीलाई दिएको जाननकारीअनुसार घटनास्थलबाट प्राप्त तस्बिरले छ तले उक्त भवनको बाहिरी भागमा कालो लागेको देखिएको छ, भवनमा एक सय ९६ कर्मचारी बस्छन् ।

तेलको धनी मुलुक कुवेतमा ठूलो सङ्ख्यामा विदेशी कामदार छन् । यीमध्ये धेरै दक्षिण तथा दक्षिणपूर्वी एसियाका छन् र धेरैजसो निर्माण वा सेवा उद्योगहरूमा काम गर्छन् ।

जनरल फायर डिपार्टमेन्टको एक स्रोतका अनुसार भुइँ तलामा आगो लागेपछि निस्केको धुवाँले पीडितहरू निस्सासिएका थिए । “फोरेन्सिक टोलीले घटनास्थलमा काम गरिरहेका छन् र अहिलेसम्म तीन शवको सनाखत भएको छ”, ओवाइहानले भन्नुभयो ।

पीडितहरूको राष्ट्रियता घोषणा गरिएको छैन तर एएफपीले सम्पर्क गर्दा भारतीय राजदूतले अस्पतालमा जीवितहरूसँग भेट्न गएको बताउनुभयो ।

भारतका विदेशमन्त्री एस. जयशङ्करले सामाजिक सञ्जाल एक्समा समाचारबाट गहिरो स्तब्ध भएको बताउनुभएको छ । साथै उहाँले दुःखदरूपमा ज्यान गुमाउनेहरूको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

गृहमन्त्री शेख फहद अल–युसेफले घटनास्थलको भ्रमण गर्दै सम्भावित लापरवाहीको जाँचका लागि भवनका मालिकलाई पक्राउ गरिएको बताउनुभयो । उहाँले सुरक्षा नियमहरूको उल्लङ्घन गर्ने कुनै पनि सम्पत्तिलाई तुरुन्त खाली गरिने चेतावनी दिनुभयो ।

इराक र साउदी अरबको सीमामा रहेको तथा विश्वको करिब सात प्रतिशत तेल भण्डार रहेको कुवेतमा देखिएको यो आगलागी सबैभन्दा भीषण आगलागीमध्ये एक हो ।

आफ्ना पतिले अर्को विवाह गरेको भन्दै बदला लिन सन् २००९ मा एक कुवेती महिलाले विवाह भोजमा पालमा आगजनी गर्दा ५७ जनाको मृत्यु भएको थियो ।

मानिसहरू भित्र खुशीयाली मनाइरहँदा नुसरा अल–एनेजीले पालमा पेट्रोल फ्याँकेर आगो लगाएकी थिइन् । उक्त अपराधका लागि सन् २०१७ मा उनलाई मृत्युदण्ड दिइएको थियो । उक्त घटनाका पीडितहरूमा धेरै महिला र बालबालिका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.