कोरोना रोकथामका लागि कुन देशले कति आर्थिक र स्वास्थ्य सामग्री सहयोग गरे ?

काठमाडौं- सरकारलाई कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय दातृ निकायबाट सहयोग प्राप्त गरेको छ । सरकारले जापान, स्विरजरल्यान्ड, जर्मन, विश्व बैंक, एसियाली विकास बैंक, विश्व स्वास्थ्य सङ्गठन, चीन, भारतलगायत देशबाट आर्थिक सहयोग तथा स्वास्थ्य सामग्री प्राप्त गरेको छ ।

कुनै देशले आर्थिक सहयोग र कुनैले कोभिड- १९ को परीक्षण गर्ने सामग्री प्रदान गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै देशले उपलब्ध गराउने आर्थिक सहयोग अर्थ मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालय आइसकेको छ भने कुनै रकम आउन बाँकी रहेको छ । जापान सरकारले अक्सिजन मेसिन, अल्ट्रासाउन्ड मेसिन र छ वटा एम्बुलेन्स प्रदान गरेको छ ।

यस्तै स्विस सरकारले ६० हजार पिसिआर किट, भारत सरकारले ३० हजार पिसिआर किट र २० हजार रेम्डिसिभियर खोप प्रदान गरेको छ । भारतले ३० वटा एम्बुलेन्ससमेत प्रदान गरेको उहाँले जानकारी दिनुभयो । यस्तै जर्मन सरकारले १३ वटा अस्पतालको फोहर व्यवस्थापनका लागि काम गरिरहेको छ ।

जनसङ्ख्या तथा समन्वय महाशाखा प्रमुखसमेत रहनुभएका डा पोखरेलले जर्मन सरकारले प्रदान गर्ने भनेको रु एक अर्ब आउने भने बाँकी रहेको बताउनुभयो । अर्थ मन्त्रालयबाट उक्त रकम स्वीकृत भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी चीन सरकारले पनि कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न सहयोग प्रदान गरेको छ । चीन सरकारले व्यक्तिगत सुरक्षा कवच (पिपिई), पिसिआर किट प्रदान गरेको छ । चीन सरकारले रु २४ करोड दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

विश्व बैंक र एसियाली विकास बैंकले नेपाललाई समेत सहयोग प्रदान गर्ने भएका छन । दुवै बैंकले रु २० करोडका दरले प्रदान गरेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा पोखरेलले जानकारी दिनुभयो । दुवै बैंकले अनुदान र ऋणका लागि उक्त रकम प्रदान गरेका हुन् । अनुदानको रकम यही डिसेम्बरसम्मका लागि खर्च गरिसक्नुपर्ने छ ।

सरकारले गत जेठ महिनामा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि करीब रु आठ अर्ब ३९ करोडको हिसाब सार्वजनिक गरेको थियो । सरकारले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग पुर्‍याउन कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न सहयोग गर्ने व्यक्ति वा सङ्ख्याबाट करीब रु दुई अर्ब ७६ करोड ६९ लाख सात हजार १७७ सङ्कलन गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी कविता फुयाालले जानकारी दिनुभयो ।

यस्तै विश्व स्वास्थ्य सङ्गठन कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि प्राविधिक सहयोग प्रदान गर्दै आइरहेको छ । कन्ट्याक्ट ट्रेसिङ, प्रयोगशाला स्थापना, सूचना प्रविधिलगायतमा सङ्गठनले सहयोग गर्दै आइरहेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा पोखरेलले बताउनुभयो । सङ्गठनले सातवटा भेन्टिलेटर र केही पिसिआर रिएजेन्टसमेत प्रदान गरेको छ ।

चीनको वुहान शहरबाट आएका विद्यार्थीमा नेपालमा पहिलोपटक २०७६ साल माघ १० गते सङ्क्रमण देखिएको थियो । अहिलेसम्म ८६ हजार ८२३ सङ्क्रमित फेला परेका छन् भने ६४ हजार ६९ जना सङ्क्रमणबाट निको भएर घर फर्किसकेका छन् । हालसम्म निको हुने दर ७३ दशमलव ०७ प्रतिशत रहेको छ । यसैगरी ५३५ को सङ्क्रमणबाट निधन भइसकेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.