सिन्धुलीको कालिआपमा लेदोले ट्रक पुरिंदा सडक अबरुद्ध, चालक सकुशल

सिन्धुली- मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाँउपालिका-१ कालिआप भन्ने स्थानमा माथिबाट झरेको लेदोले एउटा ट्रक पुरिएको छ । लगातारको बर्षाले खुर्कोट घुर्मि सडक खण्डका ठाँउठाँउमा पहिरो झर्नुका साथै कालिआपमा एउटा ट्रक पुरिएको स्थानिय गौरब कार्कीले जानकारी दिनुभयो ।

आज बिहान एक्कासि लेदोसहितको पहिरो खस्दा प्रदेश २-०३-००१ ख- ७१४४ नम्बरको ट्रक पुरिएको हो । ट्रकचालक पर्सा परवानीपुरका २५ वर्षीय रोशन पटेल सकुशल रहेका छन् । लगातारको वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरोले मध्यपहाडी राजमार्गको ठाँउठाँउमा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । गोलञ्जोर गाँउपालिकाको कालिआप, अक्करेभिर, कुँडुले, लगायतका स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लले जानकारी दिनुभयो ।

राजमार्गसँग जोडिएर खनिएका ग्रामीण सडक व्यवस्थित नहुँदा लेदो आएर राजमार्गमा बसेकाले अवरुद्ध भएको स्थानियले जनाएका छन् । पहिरो पन्छाउन नेपाल प्रहरीसहित सडक विभागको मेसीन प्रयोग भइरहेको र सडक खुल्न समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.