बहुमतको दम्भमा पेलेर जान खोज्नु दुर्भाग्यपूर्ण- काँग्रेस नेता कनौडिया

रुपन्देही- प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभाको बैठक जारी छ ।

बैठकको विशेष समयमा नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले लोकतान्त्रिक मूल्यमान्यता विपरीत प्रदेशको स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्ताव आएकाले विरोध जनाएको बताउनुभयो ।

राजधानीको प्रस्तावभन्दा पनि प्रक्रियाको विरोध गरेको जनाउँदै उहाँले क्षेत्रीयताको भावना राखेर राजधानी घोषणा गर्नु उचित नहुने धारणा राख्नुभयो । “हामी संसदीय व्यवस्थालाई मान्छौँ । हामीले राजनीतिक सहमतिका लागि केही दिन रोक्न भनेको थियौँ तर सरकारले नमानेपछि बाध्य भएर विरोध गर्नुपर्‍यो”, नेता कनौडियाले भन्नुभयो ।

उहाँले बहुमतको दम्भमा विधि, कानून र प्रक्रिया मिचेर राजधानी जस्तो ऐतिहासिक महत्वको विषय आउँदा पार्टीको असहमति रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “देशमा ठूलाठूला राजनीतिक परिवर्तन राजनीतिक पार्टी मिलेर ल्यायौँ तर आज आश्चर्यजनक तरिकाले राजधानीको प्रस्ताव आएको छ । सरकारको यो एकलौटी निर्णय मान्य छैन ।”

प्रदेशको राजधानी दाङ राख्ने विषयमा आपत्ति नभए पनि त्यसको औचित्य पुष्टि गर्न नेता कनौडियाले सरकारसँग आग्रह गर्नुभयो ।

विपक्षीको पनि सम्मान हुने गरी सहमतिका आधारमा अघि बढ्न सरकारसँग आग्रह गर्दै उहाँले बहुमतको दम्भमा पेलेर जाने काम राम्रो नभएको धारणा राख्नुभयो ।

“जनताको अदालतभन्दा कोही ठूलो हुँदैन । आज तपाइँ सत्तामा हुनुहुन्छ भोलि हामी हुन्छौँ”, उहाँले भन्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.