पुर्वाधार निर्माण,सामाजिक विकास र सुशासन उच्च प्रथामिकतामा

काठमाडौँ- देशका ६ वटै महानगरपालिकाले  आगामी आर्थिक बर्षको नीति कार्यक्रम र वजेट सार्वजनिक गरेका छन् । महानगरपलिकाहरुमा सबैभन्दा ठुलो आकारको वजेट काठमाण्डौ महानगरपालिकाले ल्याएको छ भने वीरगञ्ज महनगरपालिकाले चालु आर्थिक बर्षको भन्दा वजेटको आकार खुम्च्याएर ल्याएको छ ।

कानुनी व्यवस्था अनुसार देशका ६ वटै महानगरपलिकाले सोमबार आगामी आर्थिक बर्षको वजेट सार्वजनिक गरेका हुन् । देशकै ठुलो काठमाण्डौ महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२को लागि लागि २५ अर्ब ६३ करोड ७० लाख २५ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।  स्थानीय स्रोत र साधनलाई समन्यायिक ढंगले परिचालन गरेर गरिबी निवारण गर्ने, समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने, समाजिक सदभाव र एकता अभिवृद्धिमा सघाउ पुर्‍याउने र स्वरोजगार बनाइ विदेशीने दर घटाउनेलगायतका विषयलाई प्राथमिकतामा राखेर काठमाण्डौले बजेट ल्याएको छ ।

बजेटमा ११ वटा महानगर गौरवको आयोजनालाई ३ अर्ब ८० करोडको बजेट छुट्याइएको छ । पूर्वाधार विकासमा लागि १४ अर्बभन्दा बढी रकम छुट्याइएको छ । सामाजिक विकासका लागि ३ अर्बभन्दा बढी छुट्याइएको छ भने सुशासनका लागि १ अर्ब ८९ करोड भन्दा बढी छुट्याइएको छ । सञ्चितकोषमा २४ अर्ब २० करोड आम्दानी हुने अनुमान गरिएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिकाले पनि आगामी आर्थिक बर्षका लागि ७ अर्व ४६ करोड ८३ लाख ९२ हजारको वजेट ल्याएको छ । जुन चालु आर्थिक बर्षको भन्दा ९६ करोड ७८ लाख रुपैयाँले बढी हो । सो महानगरपालिकाले कला संस्कृति सम्पदा संरक्षण, दिगो पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, रोजगारमूलक तथा स्तरीय आधारभूत शिक्षा ,विपद जोखिम न्युनिकरण र उद्द्धार प्रविधि युक्त एवं नागरिक मैत्री जवाफदेही सेवा प्रवाहलगायतलाई प्राथमिकतामा राखेको छ ।

चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ । यो बजेट चालू आर्थिक वर्षको भन्दा २४ करोड ६ लाख ८ हजार रूपैयाँ बढी हो । वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेशातर्फ आकर्षित गर्नका लागि व्यवसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, कृषि तथा पशु बीमा कार्यक्रमलाई निरन्तरता, कृषकको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन लगायतका मुख्य प्राथमिकतामा परेको छ ।

त्यसैगरी वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ८९ करोड ४८ लाख १७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको भन्दा यो बजेट ६२ करोड रुपैयाँले कम हो । बजेटमा पर्यटन एवं कृषिदेखि गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाहलाई उच्च प्रथामिकतामा राखिएको छ ।

त्यसैगरी विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैया बराबरको बजेट ल्याएको छ । यो चालू आर्थिक वर्षको भन्दा करिब १३ करोड ८१ लाख रुपैया बढीको बजेट हो । छोरी बचाउ छोरी पढाउ, सानै छु बढ्न देउ, बालविवाह होइन पढ्न देउ, जहाँ खेलकुद त्यहाँ महानगर, जेष्ठ नागरिकको सम्मान, सभ्यताको पहिचान, सहि व्यक्तिलाई सहि समयमा सहि रकम प्रदान, सामाजिक सुरक्षा हाम्रो अभियान जस्ता कार्यक्रमहरु महानगरपालिकाले घोषणा गरेको छ ।

पोखरा महानगरपालिकाले आगामी आर्थिक बर्षको वार्षिक नीति तथा कार्यक्रममा पर्यटन राजधानी पोखराको योजनाबद्ध विकासका लागि कार्ययोजना तयार गरी सङ्घ, प्रदेश र अन्य सरोकारवालाहरूसँगको समन्वय तथा साझेदारीमा कार्यान्वयन गर्ने उल्लेख गरेको छ । महानगरका ३३ वडाको मौलिकता तथा विशिष्टताको पहिचान, वडाको सम्भावना र अवसरको उपयोग गर्ने गरी ‘एक वडा एक विशिष्ट कार्यक्रम’ अभियान सञ्चालन गर्ने नीति कार्यक्रममा छ ।

पर्यटन राजधानी पोखरामा पर्यटकीय पूर्वाधार निर्माणमा आवश्यक नीतिगत तथा प्रक्रियागत सुधार गरी स्वदेशी तथा विदेशी लगानीकर्तालाई सम्भाव्य परियोजनाहरूमा लगानीको लागि प्रोत्साहित गर्न लगानी बैठक आयोजना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै, आगामी सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गर्ने सङ्घ, प्रदेश सरकार र नीजि क्षेत्रसँग सहकार्य गरी पोखरामा कम्तीमा पन्ध्र लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.