स्थानीय सरकारको बजेट: स्थानीय उत्पादनको प्रर्वद्धनमा जोड

काठमाडौँ- आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अधिकांश स्थानीय तहले आज बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय(बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ ।
असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन, कृषि, पूर्वाधार विकास बजेटको प्रमुख प्राथमिकतामा परेका छन् । यस्तै स्थानीय तहले स्थानीय उत्पादनको प्रवर्धन र संरक्षणमा सघाउ पुग्ने गरी पनि विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार असार १० गतेभित्र जुन स्थानीय तहले बजेट ल्याउँछ त्यसले सो सूचकमा आधारित नम्बर पाउँछ । बजेट नल्याउने स्थानीय तहले नम्बर पाउँदैनन् । नम्बर नपाउँदा कुल प्राप्ताङ्कमा नम्बर घट्छ । नम्बर कम भएपछि सोही अनुपातमा स्थानीय तहले पाउने अनुदान कम हुन्छ । स्थानीय तहले पाउने अनुदानका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त अयोगले १७ वटा सूचक बनाएको छ । तीमध्ये एउटा सूचक असार १० गतेभित्र सभामा बजेट पेस गर्नुपर्ने पनि हो ।
यसअघि स्थानीय तहले निर्धारित समयभन्दा निकै पछिसम्म पनि बजेट सार्वजनिक गर्न नसक्दा वित्तीय अनुशासनमा प्रश्न उठ्ने गरेको थियो भने बजेट ढिला आउँदा खर्चमा समेत प्रभाव पर्ने गरेको छ । समयमा बजेट सार्वजनिक नगर्ने स्थानीय तहमा शिक्षक तथा कर्मचारीलाई तलब दिन नसक्नेदेखि बजेट खर्च गर्नमा समस्या भएको महालेखा परीक्षकको प्रतिवेदनले समेत पुष्टि गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार बजेट पेस र पारित गर्ने व्यवस्था छ ।
ऐनको दफा ७१ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने व्यवस्था छ । पेस भएको बजेटमाथि कार्यतालिका बनाई १५ दिनभित्र छलफलको काम सम्पन्न गरिसक्नुपर्नेछ । छलफल सम्पन्न भएपछि सभाले बजेट पारित गर्न वा सुझावसहित कार्यपालिकामा पठाउन सक्नेछ । सभाले पेस भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नु पर्नेछ ।






प्रतिक्रिया राख्नुहोस्