सिद्धबाबा सुरुङमार्ग निर्माणले लियो गतिः तीन महिनाभित्रै ‘ब्रेक थ्रु’ गर्ने तयारी
पाल्पा- सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गमा विस्फोटक पदार्थ प्रयोग गरेर खन्न थालेपछि कामले तिव्रता पाएको छ ।
बिष्फोटक पदार्थसहित काम थालिएपछि करिव एक हजार मिटर सुरुङ मार्ग आगामी तीन महिनाभित्रै ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको छ । हाल चौबिसै घण्टा खन्ने काम जारी रहेको हुँदा कुनै समस्या नआए अबको तीन महिनाभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्न सकिने आयोजनाले जनाएको छ ।
सुरुङ मार्गको मुख्य टनेल खन्न मेसिनबाट मात्र काम गर्दा निर्माणमा ढिलाइ भएपछि हाल विस्फोटक पदार्थ मार्फत सुरुङ खन्ने काम जारी रहेको छ ।
मेसिन मार्फत निर्माणको काम थालेको दुई वर्ष बित्दा प्रगति १२ प्रतिशत मात्रै रहेकोमा पछिल्लो समय विस्फोटक पदार्थ प्रयोग गरेर काम थालेपछि दैनिक ८ देखि ९ मिटरका दरले सुरुङ खन्ने काम भएको आयोजनाले जानकारी दिएको छ ।
अहिले सुरुङको समग्र प्रगति २६ प्रतिशत भइ सकेको छ । सुरुका कुल १ हजार १ सय २६ मिटर लामो सुरुङ खन्नका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौतागरी काम अघि बढाइएको हो ।
प्रतिक्रिया राख्नुहोस्