‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रमबाट म्याग्दीमा १७ सय ज्येष्ठनागरिक लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको ‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रमबाट १७ सयजना ज्येष्ठनागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित बनेका छन् । ज्येष्ठ नागरिक, शारिरीक रुपमा अपाङ्गता र अशक्त तथा दिर्घ रोगीहरुलाई लक्षित गरेर सञ्चालित घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम प्रभावकारी बन्दै जान थालेको हो ।
नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र खासगरी ७० वर्षभन्दा माथिका ज्येष्ठनागरिकलाई लक्षित गरेको यो कार्यक्रमबाट ज्येष्ठनागरिकहरुले घरमै उपचार सेवा पाएका छन् । ज्येष्ठनागरिक, (क) वर्गका अपाङ्गता भएका व्यक्ति र अति अशक्त नागरिकहरुलाई लक्षित गरिएको घरमै स्वास्थ्यकर्मी पुगेर उपचार गर्ने कार्यक्रमबाट लक्षित समूहसँगै अन्य सर्वसाधारणहरु पनि लाभान्वित भएको बेनी नगरपालिकाले जनाएको छ ।
नगरपालिकाद्वारा वडाको गाउँ, वस्ती र टोलटोलमा पुगेर स्वास्थ्य सेवा प्रवाह गर्न सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै गएपछि नगरवासी हर्षित भएका छन् । घरघरमा स्वास्थ्यकर्मी कार्यक्रमले बेनी नगरपालिकाको विभिन्न वडाबाट स्वास्थ्य सेवा लिनकै लागि भनेर जिल्ला सदरमुकाम बेनीबजारसम्म झर्नुपर्ने बाध्यताको अन्त्य हुनुका साथै समयको समेत बचत भएको छ । वि.सं. २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट बेनी नगरपालिकामा जनप्रतिनिधिको नयाँ टिमले यो कार्यक्रम सञ्चालन गरेको थियो ।
बेनी नगरपालिकाका मेयर सुरत केसीले आफू निर्वाचित भएपछि पदभारग्रहण गर्ने क्रममा नै पहिलो निर्णय ज्येष्ठनागरिकको घरघरमा स्वास्थ्यकर्मी परिचालन गर्ने कार्यक्रम घोषणा गर्दै हस्ताक्षर गर्नुभएको थियो । अहिले यो कार्यक्रम बेनी नगरपालिकाको ८ वटा वडामा प्रभावकारी रुपमा सञ्चालन भैरहेको छ । २०७८ सालको जनगणनाअनुसार घरधुरी सङ्ख्या ८ हजार ६ सय ५२ कायम भएको बेनी नगरपालिकामा कुल जनसङ्ख्या भने ३२ हजार ६ सय ९७ रहेको छ । १० वटा वडा रहेको बेनी नगरपालिका क्षेत्रमा यो कार्यक्रम ७ र ८ नम्बर वडा बेनीबजारबाहेक अन्य वडामा नियमित रुपमा सञ्चालन भैरहेको छ ।
प्रत्येक महिनाको एकपटक बेनीका स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्यकर्मीहरु नागरिकका घरघरमा पुग्छन् । घरघरमा स्वास्थ्यकर्मी कार्यक्रमको मुख्य उद्देश्य रोग तथा स्वास्थ्य समस्याको समयमा नै पहिचान गरी ज्येष्ठनागरिकको उपचारमा लाग्ने खर्च घटाउने रहेको छ । यसका साथै प्रत्येक महिना ज्येष्ठनागरिकको स्वास्थ्यलाई निगरानी गरी हेल्थ प्रोफाइल तयार गर्ने, घरघरमा पुगेर ७० वर्षभन्दा माथिका र असक्त नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने, निगरानीपश्चात् आवश्यक औषधी दिने र मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने कार्यक्रमको थप उद्देश्य रहेको छ । अहिले यही उद्देश्यअनुसार नगर क्षेत्रमा कार्यक्रम नियमित रुपमा सञ्चालन भैरहेको छ भने नागरिकले सेवा पाइरहेका छन् ।
घरघरमा स्वास्थ्यकर्मी कार्यक्रमलाई कार्यान्वयन गर्न मासिक रुपमा ज्येष्ठनागरिक, अशक्त र अन्य सर्वसाधारण नागरिकलाई समेत स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै आवश्यक परामर्श सेवा प्रवाह भैरहेको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो । चालु आर्थिक वर्ष २०८०÷०८१ मा यस कार्यक्रम कार्यान्वयन गर्न कुल आठलाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । घरघरमा स्वास्थ्यकर्मीहरु परिचालन भएपछि हिँडडुल गर्न नसक्ने, ज्येष्ठनागरिक र अशक्तले घरमै उपचार सेवा पाएको हुँदा स्वास्थ्य अवस्थामा सुधार आएको बेनी नगरपालिकाका जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले बताउनुभयो ।
ज्येष्ठ नागरिकहरुलाई कम्तीमा पनि स्वास्थ्यकर्मीको पहुँचमा पु¥याउनको लागि घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गरिएको हुँदा यसबाट करिब १७ सयजना ज्येष्ठनागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित बनेको मेयर केसीले बताउनुभयो । बेनी नगरपालिकाको विभिन्न वडामा रहेका स्वास्थ्यचौकी र सहरी स्वास्थ्य केन्द्रबाट खटिएर जाने स्वास्थ्यकर्मीहरुले ज्येष्ठनागरिक तथा बिरामी र सर्वसाधारणहरुको स्वास्थ्य अवस्थाको चेकजाँच गर्ने गर्दछन् ।
स्वास्थ्यकर्मीहरुले ज्येष्ठनागरिकहरुमा खासगरी सुगर तथा प्रेसरको चेकजाँच, दिर्घरोगीले नियमित रुपमा औषधी खाए, नखाएको तथा अन्य स्वास्थ्य समस्याहरुको बारेमा पनि जानकारी लिनेदिने गर्दछन् । नगरपालिकाले सञ्चालन गरेको यो कार्यक्रम अत्यन्त प्रभावकारी र अति आवश्यक रहेको भन्दै नगरवासीले समेत प्रशंसा गरेका छन् । ज्येष्ठनागरिकलाई लक्षित यो कार्यक्रमबाट अन्य सर्वसाधारणहरुले पनि स्वास्थ्य सेवा पाएका छन् ।
घरघरमा पुगेर प्रत्येक ज्येष्ठनागरिकको सुगर, प्रेसर, अक्सिजन तथा तापक्रमलगायत स्वास्थ्यवस्थाको बारेमा जानकारी लिने र आवश्यक औषधी तथा परामर्श सेवा उपलब्ध गराइएको स्वास्थ्यकर्मी सुप्रिया शाक्यले जानकारी दिनुभयो । बेनी नगरपालिकाको घरघरमा स्वास्थ्यकर्मी कार्यक्रमसँगै स्वास्थ्यचौकीहरुमा हरेक महिनाको १५ गते नसर्ने रोगको स्क्रिनिङ क्याम्प आयोजना गरी ४५ वर्षभन्दा माथिका नागरिकहरुको स्वास्थ्य परीक्षण पनि गर्ने गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.