समाजवादी मोर्चालाई सक्रिय बनाउन छलफल

काठमाडौँ- समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे समाजवादी घटक दलहरूबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको छलफलमा समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा नेताहरूबीच अनौपचारिक कुराकानी भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले जानकारी दिनुभयो ।

“समाजवादी मोर्चालाई सक्रिय बनाउने, व्यवस्थित बनाउने र मोर्चालाई देशभर विस्तार गर्ने विषयमा सैद्धान्तिक छलफल भएको छ, छिट्टै अर्को बैठक बसेर थप निर्णय गर्नेछौँ”, अध्यक्ष यादवले भन्नुभयो । मोर्चालाई सक्रिय बनाएर सातै प्रदेशमा सङ्गठन विस्तारबारे कुराकानी भएको उहाँले बताउनुभयो ।

छलफमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेपाल समाजवादीका अध्यक्ष यादवसहितका नेताहरू सहभागी हुनुहुन्थ्यो । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.