अब कसरी अघि बढ्छ नयाँ सरकार गठन प्रक्रिया ?

कानुन विद्हरुसँगको परामर्शमा राष्ट्रपति

काठमाडौँ- सदनमा राखेको विश्वासको मत सम्बन्धिको प्रस्ताव अस्वीकृत भएसँगै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड पदमुक्त हुनु भएको छ  ।

नेपालको संविधानको धारा १०० मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सोही ब्यवस्था बमोजिम सरकारमा सहभागी दल एमाले जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि  प्रधानमन्त्रीले विश्वासको मतका लागि सदनमा राख्नु भएको प्रस्ताव अस्वीकृत भएसँगै प्रधानमन्त्री स्वत: पदमुक्त हुनु भएको हो। सो जानकारी संसद सचिवालयले राष्ट्रपति कार्यालयलाई गराइसकेको छ ।

प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत पाउन नसकेको पत्र राष्ट्रपति कार्यालय पुगिसकेको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनु भएको छ । पत्र पुगेसँगै राष्ट्रपतिबाट नयाँ सरकार गठनको आब्हान गर्न मार्ग प्रसस्त भएको छ ।

प्रतिनिधि सभामा कुनै एक दलको बहुमत नभएको अवस्थमा संविधानको धारा ७६(१) मा प्रतिनिधिसभामा बहुमतप्राप्त पार्टीको संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था कार्यान्वनय गर्ने अवस्था छैन ।

राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन अब कुनै पनि दलको बहुमत नभएकाले अवस्थामा सरकार गठन गर्ने धारा ७६(२) र (३) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । संविधानको धारा ७६(२) मा दुई वा त्यो भन्दा बढी पार्टीको समर्थन पाउने दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ ।

संविधानको धारा ७६(३)मा दुई वा बढी दलले संयुक्त सरकार बनाउन नसकेमा प्रतिनिधिसभामा सबैभन्दा बढी सिट भएको दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नसक्ने व्यवस्था छ ।

काँग्रेस एमाले बीच  सहमति निर्माण भइसकेको र बहुमतको सरकार गठनका लागि दुई दलक स्पष्ट बहुमत रहेको अवस्थामा  पहिलो कार्यकालमा नेकपा एमाले अध्यक्षलाई प्रधानमन्त्री नियुक्ती गर्न संविधानको धारा ७६ को २ अनुसार नै राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनु पर्ने हुन्छ ।

त्यसो त नयाँ सरकार गठनमा राष्ट्रपतिले कुन धारा प्रयोग गरेर आब्हान गर्ने भन्ने विषयमा कानुनविद्हरु बीच भने समान धारणा छैन ।

कतिपय कानुन विद्हरुले भने प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिइ प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेकेको अवस्था रहेकाले धारा ७६(३) अनुसारको प्रक्रिया अनुसार संसदको ठुलो दलको संसदीय दलको नेता शेरबहादुर देउवा स्वतः प्रधानमन्त्री नियुक्त गर्नुपर्ने तर्क राख्दै आएका छन् ।

कतिपयले भने  बहुमतको विकल्प हुँदा हुँदै त्यो धारामा जान नपर्ने तर्क गर्दै आएका छन् । त्यसो त यस विषयमा राष्ट्रपतिले आजै संविधान विद्हरु सँग पनि परामर्श गर्नु भएको छ ।

कानुन विद्हरुसँगको परामर्शमा राष्ट्रपतिले अब  कुन धारा अनुसार नयाँ सरकार गठनको आब्हान गर्ने भन्ने विषयमा चासो राखेको  परामर्शमा सहभागी संविधान विद् डा‌‌ चन्द्रकान्त ज्ञवालीले बताउनु भयो ।

प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेको जानकारी सदनबाट प्राप्त भइसकेकाले  राष्ट्रपतिबाट आजै नयाँ सरकार गठनको लागि आब्हान हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिबाट नयाँ सरकार गठनको आह्वान गर्नासाथ सरकार दाबी गर्नेगरी काँग्रेस एमालेले तयारी गरेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.