गृह प्रशासनको नेतृत्व ‘शालीन व्यक्तित्व’ लेखकलाई

काठमाडौँ- नेपाली कांग्रेसभित्र प्रभावशाली एवं समन्वयकारी नेताका रूपमा स्थापित कांग्रेस नेता रमेश लेखकले आजदेखि मुलुकको गृह प्रशासनको नेतृत्व सम्हाल्नु भएको  छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज उहाँलाई गृहमन्त्रीका रुपमा नियुक्त गर्नुभएको हो ।

राजनीतिक विषयवस्तुलाई गहन ढङ्गले अध्ययन गरी तर्क प्रस्तुत गर्नसक्ने प्रखर व्यक्तित्व तथा अध्ययनशील नेताका रुपमा मन्त्री लेखक चिनिनुहुन्छ ।

आमा शारदादेवी र बुबा प्रयागदत्तका सुपुत्रका रुपमा लेखकको जन्म २०२० साल मङ्सिर २५ गते बैतडी जिल्लामा भएको हो ।

उहाँको स्थायी ठेगाना सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुरको बेदकोट नगरपालिका–८ मा रहेको छ । नेता लेखक हाल काठमाडौँको चन्द्रागिरि नगरपालिकामा बसोबास गर्नुहुन्छ ।

उहाँले त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गर्नुभएको छ । लेखक विसं २०३६ मा नेपाल विद्यार्थी सङ्घ र २०४६ सालमा नेपाली कांग्रेसमा आबद्ध हुनुभयो ।

उहाँले २०३६ सालमा कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको राजनीति सुरुआत गर्नुभएको थियो । २०४६ सालको जनआन्दोलनसँगै पार्टीको सक्रिय राजनीति सुरु गर्नुभयो । २०५६ सालको आम निर्वाचनमा पहिलोपटक कञ्चनपुर निर्वाचन क्षेत्र नं ४ बाट उहाँ निर्वाचित हुनुभएको थियो ।

जनआन्दोलनबाट पुनःस्थापित प्रतिनिधिसभामा नेता लेखकले सक्रिय भूमिका खेल्नुभयो । लोकतन्त्रको बहालीपछि उहाँ श्रम तथा यातायातमन्त्री हुनुभएको थियो । लेखक २०६४ सालको संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७० सालको दोस्रो संविधानसभामा कञ्चनपुरबाट प्रत्यक्ष निर्वाचित हुनुभयो । लेखक भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत बन्नुभयो ।

पत्रकारिता र प्राध्यापनसमेत गर्नुभएका लेखक कानुन व्यवसायीका रुपमा क्रियाशील हुनुहुन्थ्यो । उहाँले सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधि पाउनुभएको छ ।

कानुनका ज्ञाता लेखकले संविधान तथा कानुन निर्माणमा विशेष भूमिका खेल्नुभएको थियो । नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन उहाँले पु¥याउनुभएको योगदान स्मरणीय छ । नेता लेखक नेपाल सरकारका तर्फबाट तत्कालीन विद्रोही माओवादीसँग वार्ता गर्ने टोलीका सदस्य हुनुहुन्थ्यो । गृहमन्त्री लेखकका ‘शाही शासनको एक वर्ष’, नामक पुस्तकसहित विभिन्न पत्रपत्रिकामा लेख तथा रचना प्रकाशित छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.