बागमती मुख्यमन्त्री जम्मकट्टेलले आज चौथो पटक विश्वासको मत लिंदै

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकबाट चौंथो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

असार २४ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिने अवस्था आएको हो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

यसअघि तीन पटक सम्म विश्वासको मत पाएर पद जोगाउनुभएका जमकट्टेलले यस पटक विश्वासको मत नपाउने निश्चित छ ।

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीसँगको छलफल र माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझाव बमोजिम मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिने निर्णयमा पुग्नुभएको हो ।

कुल एकसय १० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै ६४ मत पुग्छ । जसका कारण जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्न असम्भव देखिन्छ । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५६ मत आवश्यक पर्छ ।

सात राजनीतिक दल रहेको प्रदेश सभामा काँग्रेस र एमाले बाहेक सबै दल मिल्दा पनि कुल ४६ मत मात्रै पुग्छ । तर, संसदमा १३ मत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

राप्रपा संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेको राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङले बताउनुभयो ।

२०७९ पौष २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएका जम्कट्टेललाई राप्रपाले पहिलो पटक विश्वासको मत दिएको थियो । सरकारबाट बाहिरिएपछि दोस्रो पटक राप्रपाले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मत थियो ।

गत चैत्र १९ गते तेस्रोपटक मुख्यमन्त्रीले विश्वासको मत लिँदा तटस्थ बसेको राप्रपाले चौथो पटक विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेको हो ।

नेपाली काँग्रेसले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रबार ललितपुरस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राख्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । एमाले बागमती प्रदेशको शनिबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मत दिन ह्विप जारी गरेको एमाले बागमती प्रदेश संसदीय दलका मुख्यसचेतक मधुसुदन पौडेलले जानकारी दिनुभयो ।

एमालेले आफ्ना सम्पूर्ण सांसदहरूलाई आइतबार बस्ने प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको छ । यसभन्दा अघि विश्वासको मत नदिएको नेपाल मजदुर किसान पार्टीले यस पटक पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.