मानसिक सन्तुलन गुमाएका युवक आठ वर्षदेखि खोरमा

मकवानपुर- मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–१ चकरीका एक युवकलाई विगत आठ वर्षदेखि थुनेर राखिएको छ । सानै उमेरदेखि मानसिक सन्तुलन गुमाएका हिरालाल थिङलाई ब्लकले बनाइएको सानो खोरमा थुनेर राखिएको हो ।

घरसँगै गाईगोठ छ । गाईगोठको ठिक परपट्टी हिरालाल थिङको लागि छुट्टै बास स्थान बनाइएको छ । झट्ट हेर्दा शौचालय जस्तो देखिने खोरमा उहाँ बिगत ८ वर्षदेखि थुनिदै आउनुभएको । उमेरले २३ वर्ष पुगेका हिरालाल सानैदेखि मानसिक रुपमा अस्वस्थ थिए ।

उनी कान सुन्नुहुन्न र बोल्न पनि सक्दैनन् । उनको अवस्था थाहा पाउँदा पनि परिवारले उपचार गराएनन् । उमेर सानो हुँदा उनले गर्ने हर्कतलाई बालसु्लभ व्यहोरा ठानेर सबैले बेवास्ता गरे ।

उमेर बढ्दै जाँदा लुगा लगाउन नमान्ने, गाउँ गाउँ डुलेर हिँड्ने, बिगार गर्ने जस्ता क्रियाकलापले परिवारका सदस्य हैरान भएपछि हिरालाललाई थुनेर राख्न थाले । “नथुनेर के गर्नु छिमेकी इस्टमित्र छन्, लाज हुन्छ । नाती हो माया त लाग्छ । खाना खान दिन्छौ अनि त्यहीँ राख्दिन्छौं । बाहिर निकाल्यो की डाङ्गडुङ्ग गर्छ” हिरालालकी हजुरआमा सानोकान्छी थिङले दुखेसो पोख्नुभयो ।

ज्यामी काम गर्ने हिरालालका बुबा भीम बहादुर आर्थिक अवस्था कमजोर भएकै कारण छोरालाई अस्पताल लान नसकिएको बताउनुहुन्छ् ।

हिरालाललाई सानो खोरमा दिन रात बिताउन र शौच समेत त्यही गर्नुपर्ने बाध्यता छ । डेढ दशक देखि उनले पाशविक जिवन भोगिरहेका छन् । हेटौंडामा रहेको मानव सेवा आश्रममा एक महिना राखेता पनि उनलाई पुनः घरमा नै ल्याइयो ।

मानव सेवा आश्रममा रहँदा खानै नमानेपछि उनलाई त्यहाँका अभियन्ताले घर फर्काइदिएका थिए । घरमा उनको रेखदेख गर्ने कोही छैनन् । परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर छ ।

हिरालालको आमा राजगारीको शिलशिलामा विदेश हुनुहुन्छ । उमेरले ८० दशक पुग्नुभएकी हिरालालकी हजुरआमा सकिनसकी घरधन्दा गर्नुहुन्छ । वडा कार्यालयको पहलमा हिरालाललाई उपचारका लागि अस्पताल लैजाने बताएपनि परिवारका सदस्य कुर्न जान समेत नमान्ने भएकाले समस्या रहेको मनहरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिव प्रसाद खनालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँपालिका कै पहलमा उपचारका लागि काठमाडौं लैजान खोजेको हो, घरका अभिभावक कुर्न जान समेत मान्दैनन् ।”

अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ले अपांगता भएका व्यक्तिलाई अन्य व्यक्ति सरह समान रुपमा आफ्नो परिवार वा संरक्षकसँग बस्ने अधिकार दिएको छ ।

निजलाई कुनै खास स्थानमा बस्नका लागि बाध्य पारिने छैन भनी ऐनमा उल्लेख गरिएको छ । तर, हिरालालको अधिकार न परिवार, न समाज न राज्यले दिन सक्यो । उहाँका लागि यही बन्द कोठा नै संसार बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.