दुई वर्षभित्र कर्णालीका सबै घरमा बिजुली पुर्याउने गरी काम गर्छु- मन्त्री बुढा
सुर्खेत- कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाले आगामी दुई वर्षभित्र कर्णालीका सबै घरमा बिजुली पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
आज पदभार ग्रहण गर्दै मन्त्री बुढाले हाल कर्णालीका ८३ दशमलव १३ प्रतिशत घरधुरीमा वि्द्युत पुगेको बताउँदै आगामी दुई वर्षभित्र त्यसलाई शत प्रतिशतमा पुर्याइने बताउनु भएको हो ।
दीगो विकास लक्ष्य-२०३० तथा संघीय सरकारले पनि दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिएको बताउँदै मन्त्री बुढाले उक्त लक्ष्य प्राप्तिका लागि प्रदेश सरकार आवश्यक रणनीति र कार्ययोजनासहित अघि बढ्ने जनाउनु भयो ।
उहाँले दुई वर्षभित्र कर्णालीलाई पूर्ण विद्युतीकरणका लागि कर्णाली जलविद्युत कार्ययोजना-२०८१ तयार गरेर लागु गरिने बचन दिनुभयो ।
सौर्य मिनी ग्रिड आयोजना, लघु तथा साना जलविद्युत आयोजना निर्माण तथा पुर्नस्थापना र घरायसी सौर्य उर्जा प्रविधि जस्ता भौगोलिक बनावट अनुकूल आयोजनाहरु कार्यान्वयन गरिने मन्त्री बुढाको भनाइ थियो ।
मन्त्री बुढाले उक्त कार्ययोजना कार्यान्वयनका लागि तीन तहका सरकार र सम्वद्ध विकास साझेदारहरुसँग समन्वय र सहकार्यलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।।
प्रतिक्रिया राख्नुहोस्