अर्थतन्त्रमा सुधार, रोजगारी सिर्जना र सुशासन सरकारका प्राथमिकता: मन्त्री गुरुङ
पोखरा- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले एक वर्षभित्रमा सञ्चार क्षेत्रमा परिर्वतनको अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ ।
पोखरामा नेपाल टेलिभिजनसँग कुरा गर्नुहुँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सरकारले अर्थतन्त्रमा सुधार, रोजगारी सिर्जना, सुशासन र सञ्चारको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।
मन्त्री गुरुङले राजनीतिक स्थायित्व, सुशासन र विकासको गतिलाई तिव्रता दिन संसद्का दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको र अहिले बनेको गठबन्धन सरकारलाई असफल हुने छुट छैन भन्नुभयो ।
मन्त्री गुरुङले डिजिटल नेपालको अवधारणा अनुसार विद्युतीय शासन सञ्चालनमा सरकारले जोड दिने बताउनुभयो । उहाँले सञ्चारसँग सम्बन्धित ऐन, कानूनलाई समयसापेक्ष ढङ्गले परिमार्जन गरिने पनि बताउनुभयो ।
अहिले पनि पुराना ऐन, कानूनबाट कतिपय सञ्चार संस्था चलिरहेका छन्, तिनलाई संशोधन र परिमार्जन गर्नुपर्छ, आवश्यक परेका कानुन निर्माणमा पनि सञ्चार मन्त्रालयले विशेष पहल लिन्छ”, उहाँले भन्नुभयो ।
“हुलाकलगायत संस्थालाई आधुनिक ढङ्गले सञ्चालन गर्न आवश्यक छ” मन्त्री गुरुङको भनाइ थियो ।
मन्त्री गरुङले टेलिकम सेवालाई थप गुणस्तरीय बनाउने बताउनुभयो । सञ्चारमाध्यमको सबलीकरण र पत्रकारको वृत्तिविकासका लागि कार्ययोजना बनाएर काम गर्ने उहाँको भनाइ थियो ।
पोखरास्थित नेपाल टेलिकम ,दुरसञ्चार कार्यालय, राष्ट्रिय समाचार समिति र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेशको अनुगमन, अवलोकन तथा कार्यालयबाट भएका प्रगतिका बारेमा मन्त्री गुरुङले जानकारी पनि लिनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्